धरान/ बालिका अनुशा राईको मृत्यु प्रकरणलाई कमजोर बनाउँदै पीडकलाई उन्मुक्ति दिन खोजिएको भन्दै धरानको महिला सञ्जालले बिहीबार इलाका प्रशासन कार्यालयमार्पmत् प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ ।

सञ्जालले इप्रका धरानका प्रमुख कमलबहादुर थापामार्फत् प्रधानमन्त्री कार्यालयमा ज्ञापनपत्र बुझाएको हो । ज्ञापनपत्र बुझ्दै थापाले फ्याक्सबाट प्रधानमन्त्री कार्यालयमा पठाए । सञ्जालले राईको हत्या प्रकरणलाई कमजोर बनाउँदै पीडक बलिमान राई र पदमकुमारी राई दम्पतिलाई उन्मुक्ति दिन खोजिएको आरोप लगाएको छ ।

पीडित बालिकाले न्याय पाउने वातावरण सिर्जना नभएमा जस्तोसुकै आन्दोलन गर्न पनि तयार रहेको सञ्जालकी सदस्य सुनिता केसी राईले बताइन् । उनका अनुसार राईलाई न्याय दिलाउनका लागि दवाब दिन एक सय सातौँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको दिन गराइएको हस्ताक्षर भएको कपडासमेत सञ्जालले प्रशासनलाई बुझाएको छ ।

सो हस्ताक्षरयुक्त ब्यानर कुरियरमार्पmत् पठाइने इप्रका प्रमुख थापाले बताए । राईको मृत्यु प्रकरणलाई रहस्यमय बनाउने र पीडकलाई उन्मुक्ति दिने प्रयास राज्य पक्षबाट भइरहेको ठहर सञ्जालले गरेको छ । घटनाको यथार्थ र सत्यलाई तोडमरोड गरेर पीडकलाई उन्मुक्ति दिएमा सञ्जाल आन्दोलनमा होमिनेसमेत उनीहरूले बताए । सञ्जालले महिला आयोग र राष्ट्रिय मानवअधिकार आयोगमा बोधार्थ पठाएका छन् । यो घटनाको निष्पक्ष छानविन हुने उपसचिव थापाले बताए । सञ्जालकी नगर उपाध्यक्ष सविता राईको नेतृत्वमा ज्ञापनपत्र बुझाइएको हो ।