ताप्लेजुङ/ सरकारले गत शुक्रबारदेखिनै स्थानीय निकायलाई तहमा रुपान्तरण गरी सोहीअनुसार काम गर्न सबै जिल्लामा निर्देशन दिएपनि ताप्लेजुङमा कार्यान्वयन प्रक्रिया सुस्त हुँदा स्थानीयले सास्ती पाएका छन् ।
जिल्लामा साविकको स्थानीय तह संरचनामा फेरबदल गर्दै स्थानीय तह कार्यान्वयनमा ल्याएसँगै सर्वसाधारणले स्थानीय निकायबाट पाइरहेको सेवा प्रभावित भएको छ । गाउँ विकास समितिहरु गाउँपालिका र नगरपालिका जस्ता तहमा परिणत भएकाले स्थानीय तहको काम प्रभावित बनेको हो ।
कर्मचारी, लेटरप्याड र छापजस्ता सामग्रीको अभावमा सेवाग्राहीले सेवा पाउन सकेका छैनन् भने कर्मचारीमा सिफारिस प्रक्रियालाई लिएर पनि अन्योल पाइएको छ । कर्मचारी अभाव, भौतिक संरचना नहुनु र नागरिकलाई पनि स्थानीय तहको विषयमा ज्ञान नहुँदा जिल्लामा स्थानीय तहले नागरिक र कर्मचारीमा अन्योल ल्याएको स्थानीय सञ्चारकर्मी खगेन्द्र अधिकारीको बुझाइ छ ।
गाउँ विकास समिति र नगरपालिकाबाट दिइँदै आएको सिफारिस रोकिएकाले नागरिकहरुको प्रशासनिक काम रोकिएको छ भने जिल्ला प्रशासन कार्यालयबाट प्रदान हुँदै आएको नागरिकता प्रमाणपत्र वितरण पनि प्रभावित बनेको छ ।
नागरिकता लगायतका महŒवपूर्ण कागजपत्र प्रदान गर्न सिफारिस गर्ने स्थानीय निकाय तहमा परिणत हुँदा लेटरप्याड, छाप र कार्यालय व्यवस्थापन गर्न समय लाग्दा नागरिकता वितरणजस्ता काम प्रभावित भएको ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी नरबहादुर खड्काले जानकारी दिए ।
सिफारिस र नागरिकता प्रिन्ट गर्ने सप्mटवेयर गृहबाट अपडेट नहुँदा नागरिकताका लागि गाउँगाउँबाट सदरमुकाम आएका स्थानीय प्रशासन कार्यालयबाट काम नहुँदा मर्कामा परेका छन् ।
स्थानीय तहका लागि आवश्यक सामग्रीको व्यवस्थापन भएपछिमात्र प्रशासनबाट नागरिकता वितरणको काम थालिने प्रजिअ खड्काले जानकारी दिए । उता साविकको जिल्ला विकास समितिले स्थानीय समन्वय समितिमा परिवर्तन भइसके पनि बोर्ड परिवर्तन र कर्मचारीलाई व्यवस्थापन गर्न सकिरहेको छैन ।
अहिले छापा लेटरप्यार र बोर्ड बनाउने काम भइरहेको साथै गाउँपालिका र नगरपालिकामा जाने कर्मचारीलाई निर्देशन दिने काम भइरहेकाले केही ढिलो भएको स्थानीय विकास अधिकारी नरहरि भण्डारीले बताए ।
गाउँपालिकाबाट हुने काम ढिलो भएपनि एउटामात्र नगरपालिका भएकाले नगरपालिकाको काम भने भइरहेको स्थानीय विकास अधिकारी भण्डारीको भनाइ छ । ताप्लेजुङमा एक नगरपालिका र आठवटा गाउँपालिका कायम गरिएको छ ।