पथरी/ स्थानीय तहको नयाँ संरचनाअनुसार साबिक बयरवन, केरौन र होक्लाबारी गाविसलाई मिलाएर ‘कानेपोखरी’ गाउँपालिका बनेको छ ।कानेपोखरी गाउँपालिको कार्यालय साबिक बयरवन गाविसको कार्यालयमा मङ्गलबार औपचारिक रूपमा उद्घाटन गरिएको छ । गाउँपालिकाको कार्यालयलाई विभिन्न राजनीतिक दलको उपस्थितिमा अधिकृत गोपाल श्रेष्ठले उद्घाटन गरे ।

साबिक बयरवनका गाविस सचिव हेमुलाल गौतम, कर्मचारी र विभिन्न दलका प्रतिनिधिहरूले गाउँपालिकाका नयाँ अधिकृतलाई कार्यालयमा स्वागत गरेका थिए ।

उद्घाटन कार्याक्रममा बोल्दै अधिकृत श्रेष्ठले अहिलेको मुख्य विषय स्थानीय तहको चुनाव भएकोले सबै राजनीतिक दल र व्यापारीहरू एकजुट भएर चुनाव सफल बनाउन लाग्नुपर्ने धारणा राखेका थिए । कार्यक्रममा एमालेका तर्पmबाट हरि पौडेल, माओवादी केन्द्रबाट सूर्य धिमाल, काङ्ग्रेसबाट टङ्केश्वरी याक्खा र सङ्घीय लिम्बूवान परिषद्बाट विवेक लिम्बूले बोलेका थिए ।

बयरवन गाविसका सचिव गौतमले कानेपोखरी गाउँपालिकामै नायव सुब्बाका रूपमा काम गर्ने जनाइएको छ । नयाँ संरचनाअनुसार गाउँपालिकाका ७ वटा वडाको जनसङ्ख्या ३८ हजार ३३ जना रहेको गाउँपालिकाको तथ्याङ्कले देखाएको छ । यसको क्षेत्रफल ८२.८३ वर्गकिलोमिटर छ ।