इनरुवा/जिल्लामा एकपछि अर्को गर्दै वर्डफ्लु देखिन थालेपछि सुनसरी प्रशासनले सतर्कता र निगरानी बढाउन मातहतलाई निर्देशन दिएको छ ।प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद पराजुलीको अध्यक्षतामा बसेको बैठकले वर्डफ्लु जोखिम न्यूनीकरणका लागि सतर्कता अपनाउने निर्णय गरेको हो ।

इटहरीको तालतलैया र खनारस्थित पाथीभरा पोल्ट्रिफर्ममा भेटिएको वर्डफ्लु नियन्त्रणमा आए पनि अन्य केही क्षेत्रमा भने जोखिम कायमै रहेकाले सीमानाकाबाट हुने पक्षीजन्य सामग्रीको ओसार–पसारमा कडाइ गर्ने निर्णय गरिएको हो ।तालतलैया क्षेत्रमा संरक्षित पक्षीहरू वर्डफ्लुका कारण मरेपछि पर्यटकहरूका लागि प्रवेशमा रोक लगाइएको थियो ।

सरोकारवालाहरूको बैठकले सो रोक अब खुल्ला गर्ने निर्णयसमेत गरेको छ । वर्डफ्लुकै कारण पाथीभरा पोल्ट्रिफर्मका ६ हजारभन्दा बढी कुखुरा नष्ट गरिएका थिए ।

जिल्ला पशु सेवा कार्यालयका प्रमुख शिवनाथ महतोले हाल वर्डफ्लु देखिएका स्थानहरूमा अवस्था नियन्त्रणमा आएको जानकारी दिए । अन्य केही स्थानमा पक्षी मरेको जानकारी आउने क्रम रहेकाले केही स्थानका नमूना सङ्कलन गरी प्रयोगशालामा पठाइएको महतोले जनाए । सुनसरीको खनारमा कुखुरामा भेटिएको वर्डफ्लु एच५एन८ नामक जीवाणु फेला परेको थियो ।