तरहरा/ सरकारले स्थानीय तह चुनावको मिति घोषणा गरेसँगै जिल्ला निर्वाचन कार्यालय सुनसरीमा निर्वाचनसम्बन्धी कामको चटारो बढेको छ । निर्वाचनको मिति नजिकिँदै गर्दा जिल्लामा निर्वाचनको तयारी तिब्र बनाइएको कार्यालयले जनाएको छ ।
जिल्ला निर्वाचन कार्यालयका अनुसार सुनसरीमा ३७ वटा दल दर्ता भएका छन् । संसदमा दर्ता नहुने १६ वटा साना दलले सुनसरीमा दल दर्ता गराएका छैनन् ।
२०७० सालको निर्वाचनमा १ लाख ८७ हजार ५ सय ६४ महिला र १ लाख ८४ हजार ५ सय १५ पुरुष मतदाता गरी ३ लाख ७२ हजार ७९ जना मतदाता थिए भने अहिले ५० हजारभन्दा बढी मतदाता बढेको निर्वाचन कार्यालयले जनाएको छ ।गत फागुन ९ गतेसम्म ४ लाख २९ हजार ८ सय ३० जनाले मतदाता नामावली दर्ता गराएको निर्वाचन कार्यालयले जनाएको छ ।
१८ वर्षभन्दा माथिकाले मात्र भोट हाल्न पाउने व्यवस्था भएको कारण करीब ४ लाख २२ हजारले भोट हाल्न पाउने जिल्ला निर्वाचन प्रमुख जानकी कर्णले बताए । कर्मचारीहरुको नामावली सङ्कलनका साथै मतदान केन्द्रहरु केही थप्नु पर्ने भएको कारण दलहरुसँग छलफल भइरहेको उनले बताए । निर्वाचन सामग्री नआएकोले मतदाता शिक्षा कार्यक्रम चैत अन्तिमबाट हुने उनले बताए ।
आचारसंहित जारी भएयता उल्लङ्घनको उजुरी अहिलेसम्म कार्यालयमा नआएको उनको भनाइ छ ।यता विराटनगरस्थित क्षेत्रीय निर्वाचन कार्यालयले आफ्नो काम थालेको छ ।
जिल्ला निर्वाचन कार्यालय मोरङमा पनि ७७ हजार नयाँ मतदाता थपिएको कार्यालयले जनाएको छ । मोरङमा ३३ दलले निर्वाचन कार्यालयमा दल दर्ता गराएका छन् । सबै ठूला–साना दलले दल दर्ता गरिसके पनि राष्ट्रिय प्रजातन्त्र पार्टी भने दर्ता हुन नआएको निर्वाचन कार्यालयका मोरङले जनाएको छ ।
निर्वाचन कार्यालय विराटनगरका अनुसार नौवटा निर्वाचन क्षेत्र रहेको मोरङमा ५ लाख ७३ हजार ४ सय ३ नागरिकले मतदाता परिचयपत्र लिएका छन् । मोरङमा दोस्रो संविधानसभा निर्वाचनमा ४ लाख ९५ हजार ४ सय ३३ मतदाता थिए । जिल्लामा गत फागुन पहिलो सातासम्म ७७ हजार ९ सय ७० मतदाता थपिएका छन् ।