बेलबारी / सरकारद्धारा भरखरै घोषित मोरङको सुन्दरहरैंचा नगरपालिकाको केन्द्र पूर्व सहमति अनुशार नभएको भन्दै सुन्दरदुलारीका वासिन्दाहरु आन्दोलित भएका छन् ।
नयाँ संरचना अनुशार सुन्दरहरैंचाको केन्द्र हाललाई साविक कोशीहरैंचामा नै रहने सरकारद्धारा प्रकाशित राजपत्रमा उल्लेख भएपछि सुन्दरदुलारीका राजनैतिक दलका नेता र स्थानीय वासिन्दाहरु आन्दोलित भएका थिए । गत कात्तिक २० गते स्थानीय निकाय पुन संरचना समिति कोशीहरैचा र सुन्दरदुलारीको संयुक्त वैठकमा नयाँ बन्ने सुन्दरहरैंचाको केन्द्र सलकपुरमा राख्ने निर्णय भएको थियो ।
नगरपालिकाको केन्द्र हाललाई साविक कोशीहरैंचामै रहने भन्ने प्रकाशित सूचना पाएपछि सुन्दरदुलारीका वासिन्दाहरुले मंगलवार नगरपालिका घेराउ गर्न आएका थिए । पूर्व सहमति अनुशार नगरपालिकाको केन्द्र सलकपुरमै हुनुपर्ने माग सहित मंगलवार नगरपालिकाको कार्यालय घेराउ गर्न आएका आन्दोलनकारीहरुले नगरपालिकाको वोर्ड लिएर गएका छन् । उक्त बोर्डलाई सलकपुरस्थित भुल्के वचत तथा ऋण सहकारी संस्था लि.को भवनमा राखिएको छ ।
पूर्व सहमती अनुशार हामी कार्यालय सार्नुपर्छ भनेर नगरपालिका गएका हौं , सलकपुरमा कार्यालय बन्नुपर्छ भन्ने हाम्रो माग हो नेपाली काँग्रेसका लोकप्रसाद संग्रौलाले बताए । हामीले कोशीहरैंचाका राजनैतिक दलका नेतृत्वहरु संग बसेर सहमति गरिसकेको विषय फरक हुँदा यस्तो तनाव उत्पन्न भएको संग्रौलाले बताए । केन्द्रको विषयमा विवाद उत्पन्न भएपछि राजपत्रका प्रकाशित सुचनालाई सच्याउने सलकपुरमै केन्द्र स्थापना गर्न स्थानीयस्तरमा पहल गर्ने कार्यदल बनेको नगर अधिकृत शशी राईले बताए ।
कार्यदलले एक दुई दिन भित्रै स्थानीय विकास मन्त्रालयमा गएर नगरपालिकाको केन्द्र सच्याउन पहल गर्ने भएको छ । माओवादी केन्द्रका क्षेत्रिय संयोजक नवराज चापागाईंले नगरपालिकाको केन्द्र सलकपुरमा नै सार्ने हो, यसमा विमती छैन तर नयाँ संरचना सम्वन्धि सरकारको भौतिक पूर्वाधार, जग्गा तथा भवन व्यवस्थापन सम्म पर्खनु पर्ने बताए ।
८० हजार ५ सय १८ जनसंख्या रहेको सुन्दरहैचा साविक कोशीहरैंचा र सुन्दरदुलारी मिलेर बनेको हो । उपमहानगरपालिका बनाउने सम्म चर्चा चलेको सुन्दरहरैंचा मोरङको सबै भन्दा बढी जनसंख्या भएको नगरपालिका हो ।