पथरी/कोशी टप्पु वन्यजन्तु आरक्षण जग्गा समस्या समाधान समितिको नाममा मोरङमा फेरि भूमाफियाहरुको चलखेल सुरु भएको छ । बुधबार मोरङको पथरीशनिश्चरे नगरपालिका स्थित पशुपति सामुदायिक वन क्षेत्रमा गोप्य रुपमा सरकारी कर्मचारी नै जग्गा नाप्दै गर्दा पक्राउ परेका छन् । नापी कार्यालय बेलबारीका अमिन रमेश यादव नेतृत्वमा विहान करिव ११ बजे पथरीशनिश्चरे आएको कर्मचारीको टोलीले स्थानीयबासीलाई कुनै जानकारी नदिइ जीपीएस मेशिनले जग्गा नाप्न थालेपछि पशुपति सामुदायिक वनका उपभोक्ता लगायतले पक्राउ गरेर प्रहरीलाई बुझाएका थिए । अमिन यादवसँगै ओजेटीमा आएका विद्यार्थीहरु रचना निरज यादव, पुजा बास्तोला, रचना लुइटेललगायतलाई उपभोक्ताले पक्राउ गरी शसस्त्र प्रहरी वेस क्याम्प भुटानी शरणार्थी शिविरलाई बुझाएका थिए । स्थानीय उपभोक्ताले जग्गा नाप्ने जीपीएस मेशिन, कर्मचारी चढेर आएको बा २ झ २३५३ नम्बरको पिकअप भेनलाई समेत नियन्त्रण गरी प्रहरीहुदै इलाका वन कार्यालय पथरीलाई बुझाएका थिए । इलाका वन कार्यालय पथरीबाट गएका कर्मचारीहरुले पशुपति सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष ईश्वर चौहान, स्थानीय टंक भण्डारी, कमल हाङबाङ्ग, रबिन राई लगायतको रोहोबरमा सर्जिमिन मुचुल्का बनाएर सेक्टर बन कार्यालय उर्लाबारी मंगलबारेमा बुझाएका थिए । पशुपति सामुदायिक वन क्षेत्रलाई बिभिन्न बाहानामा भूमाफियाहरुले आँखा गाडेको भन्दै त्यहा उपस्थित वन उपभोक्ता र स्थानीयबासीले भने पक्राउ परेका ब्यक्तिहरुलाई वन ऐन अनुसार कडा भन्दा कडा कारबाहीहुनु पर्ने माग राखेका थिए । खाना पकाउन एक भारी दाउरा र बस्तुको लागि घाँस ल्याउदा सामान खोसिने मात्र नभएर कतिपय उपभोक्ताले मुद्धा भोग्नु पर्ने घटनाहरु भएको भन्दै अतिक्रमणको मनसायले सबुत प्रमाणसहित पक्राउ परेका व्यक्तिहरुलाई कुनै हालतमा छाड्न नहुने उपभोक्ताहरुले माग गरेका छन् । पक्राउ परेर शसस्त्र प्रहरीको घेरामा रहेका बेला अमिन रमेश यादवले ४० बिगाहा जग्गा नाप्न वन्य जन्तु आरक्ष जग्गा समस्य समाधान समितिले पठाएर आएको बताए । यद्यपि मोरङ जिल्ला वन अधिकृत डा. विनोदकुमार देवकोटाको निर्देशनमा सेक्टर वन अधिकृत तारिणी चौधरीले पक्राउ परेका अमिन यादवलाई छाडिएको बुझिएको छ । सेक्टर वन अधिकृत चौधरीले भने यादवलगायतको टोलीलाई कारबाहीहुने भन्दै जमानीमा छाडिएको आश्वासन दिएका छन् । के हो आरक्षण जग्गा समस्या सरकारले सुनसरीको कोशी टप्पुलाई वन्य जन्तु आरक्ष बनाउने भएपछि २०३४ सालमा त्यहाका बासिन्दालाई अन्य जग्गा दिने भन्दै उठाइएको थियो । त्यहाँबाट उठाइएको २४ परिवार मध्ये साविक बयरबन—८ सिताथापमा ९ परिवार राखिएको थियो । नौ परिवारमा २१ बिगाहा ३ कट्टा जग्गा वितरण भएको थियो । बाँकी रहेका १५ परिवारले भने जग्गा नभएको शनिश्चरेका भरत कार्कीले बताए । आफूहरुले आफै जग्गा किनेर बसेको उनले बताए । त्यसबेला जग्गा नपाउने १५ परिवारले १९ बिगाहा १० कट्ठा जग्गा पाउनुपर्ने उनको दावि छ । साविक शनिश्चरे—८ सीताथापमा माछा पालन सुरु गरेका कमल हाङबाङ्ग लिम्बूले भने जग्गा पाएर पनि पीडितको बाहाना बनाएर सरकारी जग्गा अतिक्रमण गर्ने षड्यान्त्रमा लागेको आरोप लगाए । लिम्बूले सीताधापका बलराम कार्कीले आफूले पाएको जग्गा बिक्री गरेर फेरी पीडित भएको भन्दै सरकारी जग्गा अतिक्रणमा लागेको बताए । कार्कीले आधा जग्गा बिक्री गरेर पनि अझै दुई बिगाहा भन्दा बढी जग्गा उपभोग गरिरहेको लिम्बूले बताए । बलरामका भाई जितबहादुर कार्कीले अहिले तीन बिगाहा जग्गा उपभोग गर्दै आएपनि आफ्नो नाममा पास नभएको कार्कीको भनाइ छ । आरक्ष पीडित समितिको योजनामा वन कर्मचारी लचिलो सरकारले आरक्ष पीडितलाई सट्टाभर्नाको संभावित जग्गा हेर्ने र प्रतिवेदन बुझाउने गरी करिव दुई महिना अघि सुनसरीका उमेश थापाको नेतृत्वमा कोशी टप्पु वन्यजन्तु आरक्ष जग्गा समस्या समाधान समिति गठन गरेको थियो । छ महिना अविधी दिइएको उक्त समितिको सदस्य सचिवमा मोरङ जिल्ला वन अधिकृत विनोदकुमार देवकोटा रहेका छन् । समितिमा आरक्षका वार्डेन, क्षेत्रीय वन कार्यालय विराटनगर, उदयपुर र सुनसरीका जिल्ला वन अधिकृत समेत सदस्य रहेको समितिमा परेका मोरङ पथरीशनिश्चरेका जहरमान लिम्बूले बताए । सरकारी कर्मचारीबाहेक उदयपुरका बद्री साप्कोटा, सप्तरीका ललन यादव, सुनसरीका आजाद अन्सारी र मालपोत कार्यालय मोरङका अधिकृत सदस्य रहेको लिम्बूले बताए । वनको जग्गा अतिक्रमण हुन खोजेपछि आफूभने उक्त समितिमा नबस्ने जहरमान लिम्बूले बताए । बुधबार घट्नाको बिषयमा आरक्ष जग्गा समास्या समाधान समितिका अध्यक्ष उपेश थापाले आपसमा बुझाबुझ नभएको बताए । त्यो क्षेत्रको जग्गा हेर्न मात्र गएको थापाको भनाइ छ । पशुपति सामुदायिक सामुदायिक वन क्षेत्रमा जिपिएस मेशिनले नापि रहेको अवस्थामा सबुत प्रमाण सहित नापिका अमिन पक्राउ परेको सन्दर्भमा समितिका सदस्य सचिव समेत रहेका मोरङ जिल्ला वन कार्यालयका अधिकृत बिनोदकुमार देवकोटा एकाएक लचिलो देखिए । देबकोटाले आफूलाई जानकारी नदिइ नापीका कर्मचारी त्यहा पुगेको त भने तर प्रहरी, नगरपालिका, सामुदायिक वनसँग सहकार्य नगरेको कारणले मात्र उक्त घट्ना भएको उनले बताए । ठाडो बनको जग्गा नापिरहेको अवस्थामा पक्राउ परेका अमिन यादवलाई कारबाहीको सवालमा अधिकृत देवकोटा लचिलो देखिए । भूमाफियाले दुई बर्ष अघिदेखि नै वनको जग्गा बिक्री मोरङ पथरीशनिश्चरे नपा अन्तरर्गत पूर्व पश्चिम खुख्य सडक दक्षिण पशुपति सामुदायिकको करिव ४८ विगाहा जग्गामा भुटानी शरणार्थी शिविर राखिएको थियो । शरणार्थीलाई तेस्रो देश पठाइएपछि उक्त खालि जग्गामा भूमाफियाहरुको तिब्र चलखेल हुदै आएको छ । नगरभित्र पर्ने मुख्य सडकसँग जोडिएको उक्त जग्गा कहिले सुकुम्बासीको नाम, कहिले आरक्ष पीडित त कहिले संघ÷संस्थाको नाममा भूमाफियाहरुले लामो समयदेखि चलखेल गर्दै आएका छन् । उक्त जग्गामा आँखा गाड्नेमा आरक्ष पीडित अग्रपंतिमा देखिएका छन् । आरक्ष पीडितले जग्गा पाएपछि पास गरिदिने भन्दै दुई बर्ष अगाडिदेखि नै उक्त जग्गा बिक्री भइरहेको प्रमाण फेला परेको छ । साबिक शनिश्चरेका उमाकान्त पोख्रेलले ८ जनासँग दुई बर्ष अघिनै उक्त जग्गा दिने भन्दै रकम अशुलेको खुलेको छ । पोख्रेलले पथरीका लिला अधिकारी, लिला गौतम(श्रेष्ठ) पूर्ण पाण्डेसँग पीडितको नाममा जग्गा पास भएपछि १०धुरको ३ लाखको दरले दिने भन्दै रकम असुलेको पत्ता लाग्यो । त्यसैगरी सीता भट्टराईबाट एक लाख र गणेश चौहानबाट समेत जंगलको जग्गा देखाउदै रकम असुल गरेका थिए । वनको जग्गा देखाउदै रकम असुल गर्ने उमाकान्त पोख्रेलले आफुले संकलन गरेको रकम धरान सुनसरीका कैलाश कार्कीलाई बुझाएको बताए ।