काठमाडौं / प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल एक स्वतन्त्र र स्वाभिमानी राष्ट्र भएकाले स्वतन्त्र राष्ट्रमाथिको हस्तक्षेप कुनै हालतमा मान्य नहुने बतएका छन् ।

फागुन २६ गते कञ्चनपुरको पूनर्बासमा भारतीय सुरक्षा फौजको आक्रमणमा परी मृत्यु भएका गोविन्द गौतमका पक्षमा ज्ञापनपत्र बुझाउन आएको माओवादी केन्द्रको प्रतिनिधि मण्डलसँगको भेटमा प्रधानमन्त्रीले कुनै पनि हस्तक्षेप स्वीकार नहुने बताएका हुन् ।

प्रधानमन्त्रीले भने, ‘कञ्चनपुर घटनामा सरकारले ध्यान दिएन भन्ने प्रचार पूर्णतः गलत हो । घटना घटेलगत्तै भारतीय दूताबासका कर्मचारी बोलाएर मैले घटनाको अनुसन्धान र कार्वाहीका लागि निर्देशन दिएको छु ।

परराष्ट्र मन्त्रालयले लगातार कुटनीतिक सम्वाद गरिरहेको छ । गृह मन्त्रालय र परराष्ट्र मन्त्रालयबाट विज्ञप्ति जारी गरेर घटनाप्रति खेद प्रकट गरिएको छ ।

आज नै घटनाको विषयमा माननीय गृहमन्त्रीजीले संसदमा सम्बोधन गर्दै छन् । दोषीलाई कार्वाही गर्न सरकार प्रतिवद्ध छ । नेपाल एक स्वतन्त्र र सार्वभौम राष्ट्र हो । हाम्रो स्वाभिमानमाथि हुने कुनै पनि हस्तक्षेप र आक्रमण हामीलाई मान्य छैन ।’

घटनाको बारेमा आफू जानकार रहेको बताउँदै प्रधानमन्त्रीले समस्या समाधानका लागि सरकार निरन्तर लागिरहेको बताए । प्रधानमन्त्रीले भने, ‘स्थितिको बारेमा मैले लगातार स्थानीय प्रशासन र राजनीतिक दलका नेताहरुसँग कुरा गरिरहेको छु ।

गोविन्द गौतमलाई शहिद घोषणा गर्ने प्रक्रिया अगाडि बढेको छ । परिवारलाई तत्काल १० लाख राहत र गौतमका २ छोरीको शिक्षादीक्षाको व्यवस्था सरकारले गर्ने निर्णय गरिएको छ । घटनाको गम्भीर रुपले छानविन हुन्छ र दोषीमाथि कार्वाही हुन्छ । यसमा सरकार गम्भीर मात्रै होइन, निकै संवेदनशील छ ।

माओवादी केन्द्र सात नम्वर प्रदेशका ईन्चार्ज लेखराज भट्टद्वारा बुझाएको ज्ञापनपत्रमा गोविन्द गौतमलाई राष्ट्रिय शहिद र सम्मान गर्न, मृतकका परिवारलाई ५० लाख राहतको व्यवस्था गर्न, घाइतेहरुको निशूल्क उपचार गर्न, दोषीहरुमाथि अन्तर्रा्ष्ट्रिय अदालतमा गएर भएपनि सजाय गर्न, गोविन्द गौतमको शालिक स्थापना गर्न, परिवारलाई शिक्षा, स्वास्थ्य र रोजगारीको व्यवस्था गर्न माग गरिएको छ ।