काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले विहीबार मन्त्रिपरिषद विस्तार गरेका छन् । विस्तारित मन्त्रिपरिषदमा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापालाई उपप्रधानमन्त्री एवं संघीय मामिला तथा स्थानीय विकासमन्त्रीको जिम्मेवारी दिइएको छ ।
राष्ट्रपति भवन शीतल निवासमा विहीबार आयोजित विशेष समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त उपप्रधानमन्त्री थापालाई पद तथा गोपनीयताको शपथ खुवाइन् ।
यस्तै, विहीबारै राप्रप्राका तर्फबाट नवनियुक्त संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री दिलनाथ गिरीलाई पनि राष्ट्रपतिले पद तथा गोपनीयताको शपथ गराइन् ।
मन्त्रिपरिषदमा केही हेरफेरसमेत गरिएको छ । संस्कृतिमन्त्री रहेका जीवनबहादुर शाहीलाई खानेपानी तथा सरसफाइमन्त्री तथा खानेपानीमन्त्री प्रेमबहादुर सिंहलाई विज्ञान तथा प्रविधि मन्त्रालयको कार्यभार तोकिएको छ ।
राप्रपाका तर्फबाट पर्शुराम तामाङलाई संस्कृति राज्यमन्त्रीको जिम्मा दिइएको छ । उनको पद तथा गोपनीयताको शपथ भने शुक्रबार गराइनेछ ।
समारोहमा उपराष्ट्रपति, मन्त्रिगण, संवैधानिक अंगका प्रमुख तथा प्रतिनिधि, सांसद एवं विभिन्न राजनीतिक दलका नेता, सन्चारकर्मीलगायतको उपस्थिति थियो ।