काठमाडौँ / नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले चुनावको वातावरण बिगार्न सप्तरी घटना गराइएको आरोप लगाएका छन् ।
एमाले प्रदेश नं ३ सङ्गठन कमिटीले राजधानीमा आज आयोजना गरेको सप्तरी घटनाबारेको सभालाई सम्बोधन गर्दै उनले सरकारले बाहिर चुनाव नरोक्ने भने पनि भित्रभित्र चुनाव रोक्न खोजेको दोषारोपण गरे ।
उनले सप्तरी घटनाले सङ्घीयतामा सङ्घीय प्रहरी नहुने देखाएको बताउँदै मधेसी मोर्चा राजनीतिक सङ्गठन हो भने उसलाई आतङ्क नभई राजनीतिक क्रियाकलाप गर्न आग्रह गरे ।” उनले ‘खुलेआम रुपमा मधेसमा भारतीय सीमा प्रहरी बलले नेपाली भूमिमा आएर नेपाली मार्दा पनि’ सरकार र मधेसी मोर्चा चुप लागेर बसेको आरोप पनि लगाए । सभामा एमालेका सचिव योगेश भट्टराईले मधेसमा एमालेको कार्यालयमा आक्रमण र झन्डा जलाए पनि एमालेको विचार जलाउन नसक्ने बताउँदै सप्तरी घटनामा संलग्नलाई कारबाही गर्न सरकारसँग माग गरे । एमाले नेता लालबाबु पण्डितले एमालेको देशव्यापी बढ्दो प्रभाव र स्थानीय चुनावमा जित हुने देखेर अतालिएर सत्ता गठबन्धनले घटना गराएको आरोप लगाए । एमाले प्रदेश नं २ का संयोजक सत्यनारायण यादवले शान्तिपूर्ण तरिकाले कालो झन्डा देखाएर विरोध गर्न पाइने भनिए तापनि मोर्चाले बम, बन्दुक र भाला लिएर एमालेको सभालाई भाँड्न खोजेको आरोप लगाए । रासस
































