
शनिश्चरे, मोरङ/ भूटानी शरणार्थी शिविर व्यवस्थापन समितिको नयाँ नेतृत्व छनौटका लागि मंगलबार मोरङको पथरीशनिश्चरे शिविरको निर्वाचन भएको छ ।
सो शिविरको सचिवमा चम्पासिंह राई निर्विरोध निर्वाचित भएका छन् । राई लगातार तेस्रो पटक र बीचमा एक पटक गरी चौथो पटक शिविर सचिव बनेका हुन् ।
उपसचिवमा मिनामाया तिम्सिना निर्वाचित बनेका छन् । यस्तै सेक्टर प्रमुखका सैक्टर ए र बीमा रत्नबहादुर राई, सी र डीमा पुष्पराज कमर, इ एफ जी र एचमा किर्तिमान राई, तथा जे र केमा सन्तवीर राई चुनिएका छन् । ४ वटा सेक्टर रहेको त्यहाँ ३७ सदस्यीय समिति चयन भएको छ ।
मंगलबार विभिन्न सेक्टरबाट प्रतिनिधि छनौटका लागि र बुधबार शिविर व्यवस्थापन समितिको छनौटका लागि मतदान हुने कार्यक्रम रहेको हो । तर पथरीशनिश्चरेमा भनें मंगलबार नै दुवै तहको निर्वाचन सम्पन्न भएको छ । पथरीशनिश्चरेका साथै झापाको दमकस्थित बेलडाँगीमा गरी २ वटा शिविरमा २ वटा समिति चयन हुनेछ ।
पथरीशनिश्चरेमा १ हजार ८ सय ६० सहित बेलडाँगीमा समेत गरी ११ हजार ५ सय शरणार्थीबीच नेतृत्व चयन हुनेछ । १ वर्षे कार्यकाललाई अवको समितिबाट २ वर्षे बनाइएको छ ।
दुवै शिविरका कुल १५ सेक्टर र १६ उप सेक्टरबाट मतदान गरी छनौट हुने सेक्टरका १ सय २४ प्रतिनिधिले मतदान गरेर शिविर सचिव र सहसचिव छनौट गर्नेछन् । प्रतिनिधिका लागि प्रत्येक सेक्टर र सव सेक्टरबाट दुई जना महिला र दुई जना पुरुष अनिवार्य हुनु्पर्नेछ । शरणार्थी सम्बन्धि राष्ट्संघीय उच्चायोग र नेपाल सरकारको नियमनमा शिविर व्यवस्थापनका लागि शरणार्थीबीच प्रतिनिधि चुनिने गरेको हो ।
गत माघ २० गते हुनुपर्ने निर्वाचन रासन काटौती भएपछि शिविर व्यवस्थापन समितिको विरोधका कारण एक महिना लम्बिएको हो । राशन कटौती तथा दर्ता विहिन शरणार्थीलाई प्रमाणिकरण गरी दर्ता प्रक्रियामा लानु अवको समितिको प्रमुख काम रहने उल्लेख छ ।