पाँचथर /जिल्ला कृषि विकास कार्यालयले मंगलबार जिल्लाका बाह्र वटा कृषक समूहलाई एक–एक वटा हाते ट्रयाक्टर वितरण गरेको छ । कृषकहरुलाई खेतबारी खनजोतमा सहज होस भन्ने उदेस्यले हाते ट्रयाक्टर वितरण गरेको कार्यालयले जनाएको छ ।
कार्यालयले जिल्लाको रानीगाउँ गाविसको दुई र सराङडाँडा, याङ्नाम, फाक्तेप, लुम्फाबुङ, आरुबोटे, नवमीडाँडा, नागी, रवि, कुरुम्बा र नांगीन गाविसको एक–एक वटा कृषक समूहलाई सो हाते ट्रयाक्टर वितरण गरेको हो ।
कार्यालयमा आयोजित एक कार्यक्रममा प्रमुख जिल्ला अधिकारी बिनोद कुमार खड्का, प्रहरी नायव उपरिक्षक नकुल पोख्रेल र कार्यालय प्रमुख वरिष्ठ कृषि विकास अधिकृत कमलेश तिवारीले कृषक समूहका प्रतिनिधिलाई हाते ट्रयाक्टर वितरण गरेका थिए ।
मध्यपहाडि बृहत्तर मकै उत्पादन, समुदायमा आधारित कृषि प्रसार र किसान कृषि प्रसार कार्यक्रम अन्तर्गत प्रतिगोटा ८० हजार मूल्य पर्ने सो हाते ट्रयाक्टर ५० प्रतिशत अनुदानमा प्रतिगोटा ४० हजारमा कृषक समूहहरुलाई वितरण गरिएको हो ।
जिल्लाका अधिकाशंक कृषकले खनजोतका लागि गोरु र हलोको प्रयोग गर्ने गरेका छन् । कृषकले हाते ट्रयाक्टर पाएपछि खनजोतका लागि समय र आर्थिक दुबैको बचत हुने भन्दै खुसी ब्यक्त गरेका छन् ।
जिल्लामा खनजोतका लागि हलगोरु र हलि गरी प्रतिहल जमिनको १५ सय सम्म लिने गरेको कृषक बताउँछन् । त्यसको तुलनामा हाते ट्रयाक्टरको प्रयोग गरी खनजोत गर्दा छोंटो समयमै धेरै काम हुने, समयको बचत हुने र खनजोत समेत प्रभावकारी हुने बताइएको छ ।