शनिश्चरे, मोरङ/ प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तरगत झापाको धान–सुपरजोन क्षेत्रका परियोजना लागू भएका सात गाविसका २ सय १९ जना कृषकका खेतको माटोमा ९७.७१ प्रतिशत अम्लियपन पाइएको छ ।

माटो परीक्षण कार्यालय सुरुङ्गाको प्राविधिक सहयोगमा माटो विशेषज्ञ सुनील पाण्डे, हरिबहादुर भुजेलसहितको टोलील पाँच दिनसम्म अत्याधुनिक घुम्ती प्रयोगशालाबाट माटो परीक्षण सम्पन्न गरेको छ ।

परीक्षणले सो क्षेत्रका ९७.७१ प्रतिशत खेतको माटामा अम्लियपन छ भने करिब २ प्रतिशतमात्र तटस्थ रहेको पाइएको गरिएको परियोजना कार्यान्वयन इकाई झापाका बरिष्ठ कृषि अधिकृत मेघनाथ तिमल्सेनाले बताए ।

धान खेतीलाई आवश्यक पर्नेभन्दा बढी मात्रामा अम्लीयपन रहेकाले कृषि चुनको प्रयोगका साथै प्राङ्गारिक मलको प्रयोग गर्न कृषकलाई विशेषज्ञले सुझाव दिएको पनि उनले उल्लेख गरे ।धान–सुपरजोन घोषित क्षेत्र पथरिया र घेराबारीका ४० कृषक, बालुबाडी र पाठामारीका ४२, बनियानी र पृथ्वीनगरका ८२ र केचना गाविसका ४२ कृषकका खेतको माटो परीक्षण गरिएको हो ।