धरान/यहाँ हुन लागेको ‘प्रथम पूर्वाञ्चल स्तरीय पुष्प प्रदर्शनी मेला’ को अन्तिम तयारी पूरा भएको छ । सोमबारबाट सुरु हुने पुष्प मेलामा २१ वटा स्टलहरु रहने छन् । जहाँ २५० भन्दा बढी प्रजातिका सजावट विरुवा र फूल्ने प्रजातिका विरुवाहरु देख्न पाइनेसँगै खरिदबिक्री समेत हुने छ । फ्लोरी कल्चर एसोसिएन नेपालको आयोजनामा हुन लागेको पुष्प प्रदर्शनी धरान–५ स्थित अमान बजारमा लाग्ने छ । १५ लाख रुपैया बराबरको कारोबार गर्ने लक्ष्य राखेको छ । २१ वटा स्टल मध्येबाट उत्कृष्ट तीनलाई पुरस्कृत गरिने प्रेमप्रसाद पराजुलीले बताए । उनका अनुसार प्रथम, दोस्रो र तेस्रोलाई क्रमशः ७, ५ र ३ हजार रुपैयाले पुरस्कृत गरिने छ । उनीहरुलाई उत्कृष्ट सजावट, विरुवाको अवस्था र फुलाईको आधारमा छनौट गरिन लागिएको हो । जसका लागि क्षेत्रीय कृषि कार्यालय तरहराका एकजना फलफूल बैज्ञानिक, जिल्ला कृषि विकास कार्यायलबाट एकजना प्रतिनिधि र आयोजक फ्लोरी कल्चर एसोसिएसनका एकजना प्रतिनिधिको छनौट समितिले छनौट गर्ने छन् । घर सौन्दर्यता मात्रै हैन, आयलाई सघाउ पर्छ भन्ने उद्देश्यले कार्यक्रम गर्न लागिएको हो । ‘घर आगन होस् या नदी किनारा, रोपी स्वदेशी फूलविरुवा, बनाउ पूर्वाञ्चल हराभरा’ नाराका साथमा पुष्प प्रदर्शनी सुरु हुन लागेको हो । विशेष गरेर स्कुलका विद्यार्थीहरुलाई लक्षित गरिएको पराजुलीले बताए । प्रदर्शनी पश्चात जिल्ला समितिसमेत गठन गर्ने तयारी भएको संयोजक खगेन्द्र पोखरेलले बताए ।