विराटनगर/पूर्व क्षेत्र प्रहरी कार्यालय विराटनगरले स्थानीय तहको चुनावलाई लक्षीत गरेर सुरक्षा योजना तयार पारेको जनाएको छ । भर्खरै सरुवा भएर पूर्वाञ्चलको सुरक्षा जिम्मेवारी सम्हाल्न आउनुभएका डिआइजी रमेश भट्टराइले निर्वाचन घोषणासंगै निर्वाचन केन्द्रीत सुरक्षा योजना तयार पारेको जानकारी दिए ।

निर्वाचनलाई शान्तिपुर्ण रुपमा संचालन गर्न सुरक्षा ब्यवस्था मजबुत बनाउन नेपाल प्रहरी लागि परेको उनले बताए । विराटनगरमा संचारकर्मीहरुसंगको भेटघाटमा डिआइजी भट्टराईले निर्वाचन शान्तिपुर्ण रुपमा सम्पन्न गर्नका लागि आबश्यक तयारी भइरहेका बताए ।मुलुककालागि निर्वाचन मुख्य प्राथमिता भएको भन्दै त्यसकालागि सुरक्षा संयन्त्रले एकीकृतरुपमा काम गर्ने बताए ।

उनले म्यादी प्रहरी भर्ना, उमेद्वार तथा मतदाता सुरक्षा, सिमामा कडाई, हातहतियार भित्रन नदिन कडाई, भुमिगत समुहहरुको गतिविधिमा निगरानी लगायतका कामहरु योजनावद्धरुपमा अघि बढेको बताए। मतदान केन्द्रलाई अति संबेदनशिल, संवेदनशिल र सामान्य गरी तिन तहमा विभाजन गरिएको र सोही अनुसार सङख्या निर्धारण हुने भन्दै पूर्वाञ्चलमा मतदान केन्द्रको तह निर्धारण गर्ने काम भइरहेको बताए ।

उनले निर्वाचन र अन्य समयमा पनि वोर्डरबाट हुने तस्करीमा कडाई गर्ने, शान्ति सुरक्षामा कुनै पनि सम्झौता नहुने बताए । नेकपा एमालेले अाजबाट शुरु गर्ने मेची महाकाली अभियानमा मधेशी मोर्चाले बन्दको कार्यक्रम राखेको र शान्ति सुरक्षाको प्रश्न उठेको भन्ने संचारकर्मीको जिज्ञासामा डिआइजी भट्टरार्इले इटहरी पश्चिमका लागि विशेष सुरक्षा योजना रहेको बताए । उनले दुई पक्षविच मुडभेट हुन नदिन ठुलो मात्रामा प्रहरी परिचालन गर्ने बताए। सो अबसरमा संचारकर्मीहरुले सिमा सुरक्षा, सिमा तस्करी, शान्ति सुरक्षा र आसन्न निर्वाचनका विषयमा सुझाव समेत दिएका छन ।