१८ फागुनका लागि तोकिएको स्ववियु चुनाव उपत्यकाका केही क्याम्पसहरुमा हुने निश्चित भएको छ । त्रिभुवन विश्वविद्यालयको निर्वाचन कार्यतालिका अनुुसार प्रक्रिया पुरा गरेका क्याम्पसहरुमा निर्वाचन समितिले सिलबन्दी गरेपछि स्ववियु चुनाव हुने निश्चित भएको हो ।
भक्तपुर बहुमुखी, सानोठिमी शिक्षा, थापाथली ईन्जिनियरिङ, पुल्चोक ईन्जिनियरिङ, महाराजगञ्ज मेडिकल, नर्सिङ क्याम्पस महाराजगञ्ज लगायतका क्याम्पसहरुमा मंगलबार सिलबन्दी गरिएको छ । चुनावी वातावरण शान्त र मर्यादित बनाउनका लागि मंगलबार बिहान ६ बजेदेखि बिहिबार १० बजेसम्मका लागि ती क्याम्पसहरुमा सिलबन्दी गरिएको हो ।
यस अवधिमा क्याम्पस हाताभित्र क्याम्पस प्रशासन र कर्मचारी बाहेक अरुलाई प्रवेश निषेध गरिएको छ । उक्त क्याम्पसहरुमा बुधबार बिहान ८ बजेदेखि मतदान प्रक्रिया सुचारु हुने छ । मतदान गर्न जाने मतदाताले साथमा विद्यार्थी परिचयपत्र अनिवार्य बोक्नुपर्नेछ । अन्यथा मतदान गर्नबाट बञ्चित हुने त्रिभुवन विश्वविद्यालय केन्द्रीय निर्वाचन समितिले जनाएको छ ।