इटहरी /पत्रकारहरुको न्यूनतम पारिश्रमिक निर्धारण समितिका अध्यक्ष पोषण केसीले समानुपातिक विज्ञापन दिन राज्यले उचित पहल गर्नु पर्नेमा जोड दिएका छन् । श्रमजीवी पत्रकारहरुलाई तोकिएको तलव दिनु पर्नेमा जोड दिदै उनले सँगै समानुपातिक विज्ञापन नीतिमा पहल भइरहेको बताए ।

महिलाहरुको प्रयासमा एक्टीभ नारी प्रकाशन समुहद्वारा प्रकाशित सुचना र सञ्चार साप्ताहिकको १७ औ बार्षिक उत्सवको अवसरमा इटहरीमा आयोजित कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघका केन्द्रीय सल्लाहाकार समेत रहेका अध्यक्ष केसीले सो कुरामा जोड दिएका हुन् । अध्यक्ष केसीले सुचना न्युज डट कम अनलाइनको शुभारम्भ गर्नका साथै इटहरी–२ मा सूचना न्युज डट कमको कार्यालय पनि उद्घाटन गरेका छन् ।

कार्यक्रममा विभिन्न क्षेत्रमा लागेर सामाजिक योगदान पुर्याउने व्यक्तीहरुलाई सम्मान समेत गरिएको थियो । कार्यक्रममा पत्रकार हिमाल दाहाल, वेदराज पौडेल, शेखर ढकाल, दिपक कार्की र अग्रज महिला पत्रकार गंगा बराललाई सम्मान पत्र द्धारा सम्मान गरेको थियो । कार्यक्रममा महिलाहरुको क्षेत्रमा योगदान पुर्याउने इटहरीका लक्ष्मी गौतम, अमृता सुब्बा, शारदा पोख्रेल, बिमला ढकाल, र महिला ब्यवशायी कोपिला पराजुलीलाई सम्मान गरिएको थियो ।

यसै गरी पत्रिकाको तर्फबाट उत्कृष्ट कर्मचारी किशोर प्याकुरेललाई नगद सहित सम्मान गरिएको थियो भने उत्कृष्ठ पाठकका रुपमा इटहरीका महानन्द पोख्रेललाई पनि सम्मान पत्रद्धारा सम्मान गरेको थियो । प्रकासन समुहका अध्यक्ष सविना कोइरालाको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथिसहित समाजसेवी बद्रीप्रसाद सुवेदी, इलाका प्रहरी कार्यलयका प्रमख नरेशराज सुवेदी, उद्योग वाणिज्य संघ इटहरीका वरिष्ठ उपाध्यक्ष शैलेश विष्ट, नेपाल पत्रकार महासंघ सुनसरी अध्यक्ष अमर खड्का, प्रेस चौतारी नेपालका पाध्यक्ष लिलाराज भट्टराई लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

यसै गरी नेपाल पत्रकार महासंघ सुनसरीको दशौं साधारण सभाबाट निर्वाचित पदाधिकारी तथा केन्द्रिय पार्षद् तथा प्रदेश पार्षद्लाई सम्मान गरिएको थियो ।