काठमाडौं/ कपालले मानिसलाई सुन्दर देखाउँछ । कपालले सुन्दरतामा यति ठूलो भूमिका खेलेको हुन्छ कि केही मानिसहरु त सुन्दर देखिनको लागि विग अर्थात नक्कली कपालको समेत साहारा लिन्छन् । नक्कली कपालको प्रयोग गर्ने मध्ये पनि केहीले सार्वजनिक हुन दिएका छैनन् । यहाँ सार्वजनिक भएका नक्कली कपालवाला सेलिब्रेटीको चर्चा गर्दैछौँ ।
करिश्मा मानन्धर अभिनेत्री करिश्मा मानन्धर सुन्दर नायिकाको रुपमा परिचित छिन् । यहि कारण पनि उनी सुन्दरताको लागि जति पनि पैसा खर्च गर्न अघि सर्छिन् । केही समय अघि मात्रै उनले नक्कली कपालको लागि डेढ लाख रुपैयाँ खर्च गरिन् जसले निकै चर्चा पायो । उनले आफ्नो सक्कली कपालमा नक्कली कर्ली कपाल जोडेकी छिन् जसको मूल्य डेढ लाख हो । उनको यो कपालको आयु एक वर्ष छ । उनी यतिबेला आफ्नो सुन्दरता कायम गर्नको लागि नक्कली कर्ली कपालको प्रयोग गरिरहेकी छिन् । उनको यो कपाल स्याहार्न भने गाह्रो हुने बुझिन्छ । तैपनि उनले यसलाई सहज रुपमा लिएकी छिन् । केही समय अघि मात्रै दुबईमा सम्पन्न भएको नेफ्टा अवार्डको समयमा उनको कपाल चर्चामा आएको थियो ।
निशा अधिकारी
अभिनेत्री निशा अधिकारी यतिबेला आफ्नो सुन्दरताका लागि नक्कली कपालको प्रायोग गरिरहेकी छिन् । गएको वर्ष कपाल खौरिए पछि उनको कपाल उम्रन समय लागेका कारण उनलाई नक्कली कपालको साहारा लिनु परेको हो । निशाले रहरले नभएर बाध्यताले नक्कली कपालको प्रयोग गरिरहेकी छिन् । उनलाई भने यो नक्कली कपालको साहारा धेरै लामो समय सम्म लिनु नपर्ने देखिन्छ । निशाले आफ्नो मनले चाहेको कुरा गनुपर्छ भन्दै गएको वर्षको असारमा कपाल मुण्डन गरेकी थिइन् ।
आर्यन सिग्देल अभिनेता आर्यन सिग्देलले अभिनयका साथै रुपबाट पनि प्रशंसा बटुल्छन् । उनलाई ह्याण्डसम भएकै कारण सिनेमामा यति धेरै सफलता पाएको भन्नेहरु पनि धेरै छन् । तर उनलाई आकर्षक बनाउनमा नक्कली कपाल अर्थात विगले ठूलो भूमिका खेलेको छ । आर्यनको सार्वजनिक कपाल सक्कली हैन । उनले सुरुवातदेखि नै नक्कली कपालको साहारा लिएर स्टाईलिश बन्ने प्रयास गरिरहेका छन् । उनले आफ्नो सक्कली कपाल कस्तो छ अहिलेसम्म पनि सार्वजनिक गरेका छैनन् । फिल्ममा काम गर्दा होस् वा कुनैपनि कार्यक्रममा समावेश हुँदा आर्यन नक्कली कपाल नै प्रयोग गर्छन् । उनको सक्कली कपाल पहिलो सिनेमा किस्मत र होमवर्कमा देख्न पाईन्छ । सिनेमामा उनको खुलेको निधार देख्न सकिन्छ । उनले सिनेमा फ्ल्यासब्याकमा नक्कली कपाल त लगाएका छैनन् तर सिनेमा अवधिभर टोपीको प्रयोग गरेका छन् ।
जीवन लुईँटेल जीवन लुईँटेलले पनि केही समय अघिसम्म विगको प्रयोग गर्थे । तर अहिले भने उनले सक्कली कपाल उमारिसकेका छन् । केही समययता उनलाई नक्कली कपालको आवश्यकता परेको छैन । तर उनी सिने यात्राका वर्षौसम्म नक्कली कपालको साहाराले नै ह्याण्डसम देखिए । अहिले भने उनी सार्वजनिक कार्यक्रमहरुमा समेत सक्कली कपालमा जान्छन् । उनले कपाल उमारिसकेपछि सिनेमा राधामा काम गरेका छन् ।
नरेश भट्टराई सञ्चारकर्मी नरेश भट्टराईले पनि ह्याण्डसम देखिनकै लागि विग अर्थात नक्कली कपालको साहारा लिने गर्छन् । उनलाई राम्रो आवाजका साथै ह्याण्डसम सञ्चारकर्मीको रुपमा लिईन्छ । यहि कारण पनि उनलाई नक्कली कपालको आवश्यकता परेको हुन सक्छ । ईमेज एफ एममा कार्यरत नरेश बिभिन्न स्टेज कार्यक्रमहरुमा समेत प्रस्तोता भएर काम गर्छन् । नक्कली कपाल नलगाउँदा उनी टोपीको प्रयोग गर्छन्।
यश कुमार गायक यश कुमारको कपाल पनि त्यति राम्रो र गुड लुकिङ छैन । यहि कारण उनले सिनेमा बाटो मुनीको फूलमा नक्कली कपालको प्रयोग गरेका छन् । तर उनको त्यो नक्कली कपाललाई दर्शकले सिनेमाको लागि बढाएको भन्ने सम्झेका थिए । तर साँचो कुरा त उनले सिनेमामा आकर्षक देखिनको लागि नक्कली कपाल प्रयोग गरेका थिए । वास्तविक जीवनमा यश कुमार टोपी र रुमालको सहायताले कपाल छोप्ने गर्छन् । उनी प्राय स्टेज कार्यक्रमहरुमा रुमाल बाँधेर पुग्छन् ।