१. अहिले केमा व्यस्त हुनुहुन्छ ? दोस्रो एल्बम् किरातीको छोरो म  को तयारीमा छु । अहिले गाउनेसँगै गीतमा संगीत भर्ने  काममा व्यस्त छु । २.  एल्बम्मा कतिवटा गीत राख्नुभएको छ ? लोक, लोकपप, संस्कृतिसँग मिल्ने खालको गरी जम्मा दसवटा गीत छन् । त्यसमध्ये माझीदाइले जाल हान्यो र म छु नि त गीतलाई पहिलो प्राथमिकता दिएर एल्बम् निकाल्ने तयारीमा छु । ३.     एल्बम्का लागि कति बजेट छुट्याउनु भएको छ ? गीत रेकर्डिङ, भिडियो र पब्लिसिटीलाई गरेर लगभग ४ लाखको हुनसक्छ । ४.     तपाईको पहिलो एल्बम्ले बजार खासै तताएन किन होला ? संगीतक्षेत्र मरो लागि एकदमै नौलो थियो । पब्लिसिटी गर्न जानिएन, त्यसैले हिटमा आउन सकिएन । झन्–झन् खायो झन् मीठो गीतले नेपालमा नभए पनि विदेशबाट राम्रो प्रतिक्रिया पाएको थियो । ५.     एउटा एल्बम् हिट हुनुमा प्रचार–प्रसारको महत्व कति रहन्छ ? सुनचाँदी आफैमा बहुमूल्य भए तापनि विज्ञापन गर्नुपर्छ । राम्रो सामग्री भए पनि बजारमा बिक्न प्रचार–प्रसार बिना सम्भव छैन । ६.     तपाई कुनै  निःशुल्क सांगीतिक कार्यक्रममा पनि सहभागी हुनुभएको छ ? धरानको देउरालीमा भर्खरै बालबालिकाको सहयोगार्थ एउटा सांगीतिक कार्यक्रम भएको थियो । त्यहाँबाट अहिले काठमाडौं फर्किसकेँ । बेला–बेलामा सामाजिक कामका लागि पनि निमन्त्रणा आउने गर्छ । मैले सधैँ साथ दिने गरेको छु । खोटाङ, धरान, उदयपुर लगायतका ठाउँमा अहिलेसम्म मैले ३०–३५ वटा कार्यक्रममा सेवाको भावनाले उपस्थिति जनाइसकेको छु । ७.     तपाईको मासिक खर्च सरदर कति जति पुग्छ ? हा..हा...हा.... १५ हजारको हाराहारीमा भन्नु पर्ला । ८.     तपाईको नराम्रो बानी केही छ ? म चाँडै अरुलाई विश्वास गर्छु । यो मेरो एकदमै नराम्रो बानी हो । ९.     ब्राण्ड कन्सियस हुनुहुन्छ ? खासै छैन। जुत्ता र ज्याकेट चाहिँ ब्राण्डेड लगाउन रुचाउँछु । राम्रो मन प¥यो भने फुटपाथमा पनि सामान किन्न पछि पर्दिन । १०. प्रेममा सफल कि असफल ? प्रेममा परेको हो, तर म असफल प्रेमी हुँ ।  मन परेको सुन्दर वस्तु टिप्नै पर्छ भन्ने नहुँदो रहेछ । हेरेर पनि चित्त बुझाउनु पर्ने रहेछ । ११. संगीतमै रहेर परिवार धान्न सकिन्छ ? आजभन्दा ४ वर्षअगाडि म सक्दिनथेँ । तर अहिले अवस्था परिवर्तन भइसकेको छ । आफूसँगै परिवारलाई संगीतमै रहेर धान्न सक्छु ।

-प्रस्तुतिः रिता लामा