पाँचथर/ स्थानीय विकास राज्यमन्त्री श्रीप्रसाद जवेगुले स्थानीय तहको चुनाव गर्न सरकार तयार रहेको बताएका छन् । पाँचथरको फिदिममा आज प्रेस सेन्टर, पाँचथरले गरेको पत्रकार सम्मेलनमा उनले अब १५ दिनभित्रमा निर्वाचनको मिति घोषणा हुने उल्लेख गरे ।
मुलुकले संविधान पाए पनि कार्यान्वयनको चरणमा गइनसकेको हुँदा अब स्थानीय तहको चुनावसँगै मुलुक संविधान कार्यान्वयनको बाटोमा जाने उनले बताए। स्थानीय तहको निर्वाचनका लागि सबै दलहरुसँग छलफल तथा सहकार्य गरेर अघि बढ्नुपर्ने भएकाले अहिले छलफल र संवाद चलिरहेको उनले जानकारी गराए ।
एक वर्षभित्रमा तीनवटै तहको निर्वाचन गरिसक्नुपर्ने भएकाले पनि तत्काल स्थानीय निकायको निर्वाचन गर्न अपरिहार्य रहेको उनकाे भनाइ छ ।