काठमाडौँ/ नेपालका लागि भारतका राजदूत रणजित रायले असल छिमेकी राष्ट्रका नाताले गरेका सहयोगलाई हस्तक्षेप भन्न नहुने बताएका  छन्  । भारतको ६८ औँ गणतन्त्र दिवसको अवसर पारेर रिपोटर्स् क्लब नेपालले आज यहाँ आयोजना गरेको साक्षात्कारमा उनले भने –‘मित्रताको पवित्र उद्देश्यले भारतले नेपालका हरेक आन्दोलन र आर्थिक गतिविधिमा सहयोग गर्दै आएको छ ।’ राजदूत रायले नेपाल र भारतबीच राजनीतिक, सांस्कृतिक, आर्थिक, सामाजिक रुपमा जनस्तरसम्म प्रगाढ सम्बन्ध रहेको उल्लेख गर्दै अवको द्विपक्षीय सम्बन्धलाई आर्थिक विकासमा केन्द्रीत गर्नुपर्ने बताए । नेपालको संविधानप्रति भारतको कुनै स्वार्थ नभएको उल्लेख गर्दै उनले भने, “नेपालका सबै पक्ष मिलेर अघि बढुन भन्ने भारतको चाहना मात्र हो ।” राजदूत रायले “नेपालको आन्तरिक समस्या कसरी समाधान गर्ने भन्ने नेपालको आन्तरिक मामिला हो” भन्दै दुई देशबीच विविध सम्बन्ध भएकाले यदाकदा कुनै विषयमा उतारचढाव आउनु सामान्य रहेको र त्यस्तो असमझदारी वार्ता र छलफलका माध्यमले निराकरण गर्नुपर्ने धारणा व्यक्त गरे ।