इनरुवा/ नेकपा एमालेका केन्द्रीय सचिव भीम आचार्यले संविधान संशोधन मधेशी जनताको माग नभएको बताएका छन् ।एमाले सुनसरीले क्षेत्र नं. ५ लौकही गाविसमा मङ्गलबार आयोजना गरेको जनसभामा बोल्दै नेता आचार्यले संविधान संशोधन मधेशी जनताको चाहना नभइ मधेशवादी दलका मुठ्ठीभर कार्यकर्ताको भएको आरोप लगाए ।
आचार्यले भने, ‘मधेशी जनताले संविधान स्वीकार गरेका छन्, तर मधेशवादी दलका मुठ्ठीभर कार्यकर्ताको भरमा एमालेलाई बदनाम गर्ने खेल भइरहेको छ ।’ एमाले मधेश र मधेशी जनताको हक–अधिकार सुनिश्चित गर्ने पार्टी भएपनि मधेशवादी दल र केही ठूला पार्टीले एमालेललाई गलत रुपमा मधेशविरोधी पार्टीको रुपमा प्रचारप्रसार गरी बदनाम गर्न खोजेको भन्दै कार्यकर्ताहरुलाई सचेत रहन समेत आचार्यले आग्रह गरे ।
संविधान कार्यान्वयनका लागि सय प्रतिशत सहमति नचाहिने ठोकुवा गर्दै संविधान संशोधन प्रक्रिया एमालेले कुनै पनि हालतमा स्वीकार नगर्ने उनको भनाइ थियो । आचार्यले मधेशी जनताले प्रदेश फुटाउन नचाहेको बरु मधेशमा शिक्षा, स्वास्थ्य र रोजगारीको सृजना गर्न आन्दोलन गर्दैआएको समेत बताए ।कार्यक्रममा सुनसरीका विभिन्न क्षेत्रबाट सयौं एमाले नेता–कार्यकर्ता तथा सर्वसाधारणको सहभागिता थियो ।