इलाम /इलामको दक्षिणी क्षेत्रका गाबिसहरुमा पछिल्लो समय जङ्गली हात्तीको आगमनले सर्वसाधारण त्रसित बन्दै गएका छन् । महमाई, चुलाचुली र दानाबारी गाबिसमा जंगली हात्तीको कारण समस्या बढ्दै गएको स्थानीवासीहरु बताउछन् । प्राय जसो रातको समय हात्ती आउने र मानिसको घर, गोठमा बिगार गर्ने जस्ता समस्या बढ्दै गएको उनीहरुको भनाई छ । रातको समयमा हात्ती आउने हुनाले हात्तीका कारण महिला , बालबालिकाहरु बढी त्रासमा रहेको स्थानीय महमाई निबासी चन्द्र लामाले बताए ।
‘ हात्तीले गाउँमा समस्या उत्पन्न गराएको छ । लामाले भने ‘ पछिल्लो समय हात्तीले सर्वसाधारणका घर र परालको कुन्उि पनि लडाएर आतङ्क बढाएको छ । ’लामाका अनुसार यही महिनाको ६ गते दुई वटाको संख्यामा आएका हात्तीले महमाइ नौ का चन्द्रबल तामाङ्गको घर भत्काएको थियो । राती सुतेको समयमा आएका हात्तीले तामाङ्गको घर र घरसँगै रहेको गोठको समेत क्षति गरेको थियो । उनले भने ‘हात्तीले आतंक मच्चाउन थालेपछि स्थानीयवासी बढी त्रसित भएका छन् । एक चोटी हात्ती आएपछि पुन आउने सम्भावना बढी रहने कारणले गर्दा पनि यहाँका मानिस त्रसित बनेका हुन् । ’स्थानीय लामाका अनुसार महमाई ५ का भीम मगरको पनि घर नजिकै रहेको धानको कुनिउमा पनि क्षति गरेको छ । उनका अनुसार हात्तीले कुनिउमा भएको पराल भुईमा फ्याकेर कुनिउ भित्र रहेको धान खाएको थियो ।
मगरको ३ मुरी धानको सखाप पारेको थियो । चुरे क्षेत्रमा क्षेत्रमा कुन कहाँबाट हात्ती आउछन् भन्ने थाहा नभएपनि भारतबाट झापाको बाहुनडाँगी,दोमुखा हुदैँ इलामको सुखानी जंगल भएर दानाबारी पस्ने गरेको महमाइ प्रहरी चौकीको प्रारम्भिक अनुसन्धानले देखाएको छ । स्थानीयका अनुसार हात्तीले कुनेै पनि क्षेत्रमा पसेपछि बिगार नगरी नफर्कने कारणले पनि सर्वसाधारणमा त्रास बढेको हो । लामाका अनुसार हात्ती आउने संकेत कतैबाट नपाइएको हुनाले पनि हात्ती आइसकेपछि त्यसको त्रास बढी हुने गरेको उनको ठहर छ । इलामका दक्षिणी क्षेत्रमा विगत २० बर्ष पहिले मात्र हात्ती आउने गरेपनि पछिल्लो समय पटक पटक आउने कारण पनि सर्वसाधारण आतङ्कित बनेका हुन् ।
हात्ती आएपछि पनि त्यस क्षेत्रबाट हटाउने कुनै हतियार सर्वसाधारणमा नहुने हुनाले सर्वसाधारण नै बढी समस्यामा पर्ने गरेको लामाको भनाई छ । ‘ हात्ती आएपछि हटाउनका लागि सबै गाउँलेहरु एक ठाउँमा हुल बनाएर खेदाए मात्र नभए कुनै उपाय नहुने स्थानीय गुनासो गर्छन् ।बारम्बार हात्ति आउन थालेपछि चुरे क्षेत्रका वासिन्दा समस्यामा परेका हुन् । अघिल्लो समयमा हात्ती आउँदा गाउँलेहरुले यसरि नै धपाएका थिए । हात्तीको समस्याले गर्दा इलामका चुरे क्षेत्र सहित झापाका बाहुनडाँगी, बुधबारेको पूर्बी क्षेत्र र झिलझिले लगायतका वासिन्दा बर्षेनी हात्तीको आतंकबाट सास्ती झेल्दै आएका छन् ।