bimalधरान/विमल गुरुङ स्मृति पुस्तकालय र प्रज्ञा प्रतिष्ठानको आयोजनामा २६ औँ राष्ट्रिय कविता महोत्सव–२०७३ शुक्रबार शुरु भएको छ । महोत्सव शनिबारसम्म चल्ने छ ।महोत्सव उद्घाटनका क्रममा प्रमुख अतिथि नेपाल प्रज्ञा प्रतिष्ठानका काव्य विभाग प्रमुख डा अमर गिरीले धरान साहित्यिक सिर्जनाको उर्वर भूमि भएको धारणा राखे ।

उनले नेपाली साहित्यको विकासमा पूर्वकै योगदान महत्वपूर्ण भएको पनि बताएका थिए । महोत्सवको पहिलो दिन चलेको काव्यविमर्शमा प्राडा भीम खतिवडाले ‘समकालीन नेपाल कवितामा पूर्वको योगदान’ विषयक कार्यपत्र प्रस्तुत गरे । कार्यपत्रमा उनले नेपाली कविताको व्यापक र बहुआयामिक पक्षलाई समेटेका छन् । समकालीन पूर्वेली कविहरुमा देखिएको मात्रात्मक र प्रवृत्तिगत योगदानको उल्लेख गर्दै उनले भने, ‘पूर्वेली कविहरु काव्यिक क्षमताकै कारण आपूmलाई केन्द्रमा स्थापित गराउन सफल बनेका छन् ।’प्रयोगवाद, राल्फा अभियान, रङ्गवाद, भयवाद, क्रिमुक, आयामेली आन्दोलन, लीलालेखनलगायत पनि पूर्वबाटै प्रारम्भ भएको उनले बताए ।

यससँगै तरलतावाद, विधामिश्रण, विधाभञ्जन, विलयन, मयलगायत कवितासृजन पराम्पराका नूतन आयामहरुसमेत देखा परेको उनले बताए । पूर्वका सिर्जनाहरु स्तरीय हुँदाहुँदै पनि राज्य उदासीन हुने प्रवृत्तिले पूर्वका कविहरु ओझेलमा परेको तर्क उनले अघि सारेका छन् । उनको कार्यपत्रमा प्राडा भोलानाथ पोखरेलले टिप्पणी गरे । सो अवसरमा विराटनगरबाट आएका प्राज्ञ दधिराज सुवेदीले आप्mना ११ थान पुस्तक विमल स्मृति पुस्तकालयलाई हस्तान्तरण गरे । उनले दोहोरिएका पुस्तकहरु पुस्तकालयबीच साटासाट गर्न पनि पुस्तकालयका अध्यक्ष पूर्णबहादुर गुरुङलाई आग्रह गरे ।काव्यविमर्शकै क्रममा रङ्गवादको पनि चर्चा गरिएको थियो । रङ्गवादका प्रवर्तक धमेन्द्रविक्रम नेम्बाङले मानवशास्त्रलाई नयाँ ढङ्गले हेरिनुपर्ने तर्क गरे । उनले मानवशास्त्र मात्रै नभई अर्थशास्त्र, समाजशास्त्र र राजनीतिशास्त्रको मूल्यमान्यता, सिद्धान्तलाई फरक ढङ्गले सोच्नुपर्ने बेला आएको बताए ।

कवि विमल गुरुङका कवितामाथि बहस कवि विमल गुरुङका कविताका विषयमा भाषाविद् प्राडा टङ्क न्यौपोने, कवि बम देवान र कवि निमेश निखिलबीच गुरुङ सुसानले बहस गराए । कवि देवानले कवि गुरुङलाई ‘फेन्टासी’ मा रमाउने कवि नभई माक्र्सवादी चिन्तनबाट प्रगतिशील धाराका कविका रुपमा चिनाए । भाषाविद् प्राडा न्यौपानेले भने प्रगतिशीलतासँगै उनमा प्रयोगवादी चेतनासमेत आएको देखिने बताए । शुरुका कविताहरुमा भन्दा पछिल्ला कविताहरुमा उनको त्यो चेतना प्रष्ट रुपमा देखिने डा न्यौपानेले बताए । प्रतियोगितात्मक कविता आज देशविदेशबाट आएका करीब दुई सयवटा कवितामध्ये उत्कृष्ट २० पर्न सफल भएका छन् । ती कविता शनिबार हुने प्रतियोगितामा वाचन गरिने छन् ।त्यसै आधारमा निर्णायकले विजेता घोषणा गर्ने छन् । विजेताले नगद २० हजार रुपैया पुरस्कार प्राप्त गर्नेछन् भने दोस्रोले नगद १५ हजार र तेस्रोले १० हजार प्राप्त गर्नेछन् । विजेताहरुलाई प्रमुख अतिथि डा गिरी, पुस्तकालयका सभापति पूर्णबहादुर गुरुङलगायतले पुरस्कार प्रदान गर्ने कार्यक्रम छ ।