खोटाङ/बेलायतमा स्थापित नेपाली प्रतिभा प्रतिष्ठानले यस वर्षको ‘प्रतिभा पुरस्कार’ खोटाङका गीतकार टीका चाम्लिङलाई दिने घोषणा गरेको छ । nepali प्रतिभा छनौट समितिले हालै गरेको निर्णयअनुसार यस वर्षको रु एक लाख राशिको प्रतिभा पुरस्कार चाम्लिङलाई प्रदान गर्ने निर्णय गरिएको प्रतिष्ठानका अध्यक्ष दयाकृष्ण राईले जानकारी दिए । नेपाली कला–साहित्य, सङ्गीतलगायत विविध क्षेत्रमा योगदान दिने हस्तीहरुको सम्मान तथा प्रोत्साहनस्वरुप पुरस्कृत गर्दै आएको प्रतिष्ठानले आगामी पुस दोस्रो हप्ता काठमाडौँमा विशेष कार्यक्रम गरेर पुरस्कृत गर्ने जनाएको छ । गीतकार चाम्लिङले यसअघि पनि अधिराज्यब्यापी प्रतियोगितामा उत्कृष्ट गीतकारलगायत दर्जनौँ पुरस्कार प्राप्त गरिससेका छन् । यस्तै, प्रतिष्ठानले प्रतिभा पुरस्कारसँगै प्रदान गर्दै आएको रु २० हजार राशिसहितको सम्मान यो वर्ष गुल्मीकी वरिष्ठ कथाकार भगिरथी श्रेष्ठलाई प्रदान गर्ने निर्णय गरेको छ । अघिल्लो वर्ष सङ्गीतकार बीबी अनुरागीलाई प्रतिभा पुरस्कार र लेखक प्रद्युम्न श्रेष्ठलाई सम्मान प्रदान गरिएको थियो । बेलायतमा रहेका नेपाली आबद्घ प्रतिष्ठानले करिब १० वर्ष अघिदेखि यस्ता गतिविधि गर्दै आएको छ । प्रतिष्ठानले पुरस्कार र सम्मानका साथै विकास निर्माणमा समेत सहयोग पु¥याउँदै आएको छ । रासस