चतरा/ धार्मिक क्षेत्र बराहक्षेत्रमा सडक बिस्तारसँगै बसपार्क व्यवस्थापन भएको छ । बराहक्षेत्र मन्दिरमा बालाचतुर्दशीका दिन धार्मिक कार्यक्रम आयोजना हुने भएपछि तीर्थालुहरू उल्लेख्य मात्रामा आउने सम्भावनालाई केन्द्रित गरी चतरा–बराहक्षेत्र सडकखण्ड बिस्तार र बसपार्क व्यवस्थापन गरिएको हो ।
बराहक्षेत्र संरक्षण मञ्चको आयोजनामा आइतबार र सोमबार हुँदै गरेको धार्मिक कार्यक्रममा तीर्थालुहरूले सवारी साधनबाट उत्पन्न हुने कुनै पनि अप्ठ्यारो परिस्थितिको सामना गर्न नपरोस् भन्ने उद्देश्यले बसपार्क व्यवस्थापन गरेको मञ्चले जानकारी दिएको छ । सडककै कारण बराहक्षेत्र मन्दिरसम्मको यात्रा जोखिमपूर्ण छ । यस्ता विषयमा सम्बन्धित निकायले नै चासो नदिएपछि मञ्चले नै सडक बिस्तार थालेको मञ्चका सचिव राजु घिमिरेले जानकारी दिए ।
भर्खरै मात्र सम्पन्न हरिबोधनी एकादशी’ कार्तिके’ मेलाको लागि भनी वृहत्तर बराहक्षेत्र विकास समितिको निर्देशनमा चतरा–बराहक्षेत्र सडकखण्ड सम्याउने काम सडक विभागलाई दिएपनि मेला अवधिभरका लागि मात्र टिक्नेगरी काम भएको थियो । सम्याइएको बाटो मेलापछि सोही अवस्थामा पुगेपछि पुनः सम्याउने र मिल्ने ठाउँमा हल्का सडक फराकिलो गरिएको मञ्चका सदस्य केबी राईले जानकारी दिए ।
सडक बिस्तारसँगै बसपार्क निर्माण पनि गरिसकेको उनले बताए । वर्षेनि आधा दर्जनभन्दा बढी धार्मिक मेला लाग्ने बराहक्षेत्रमा हजारौं सवारी साधनहरू आउने भएपनि व्यवस्थित बसपार्क नहुँदा यातायात व्यवसायी लगायत तीर्थालुहरूले सास्ती भोग्नुपर्ने बाध्यता रहँदै आएको छ ।