chataचतरा/ ट्राफिक प्रहरीले धरान–चतरा र चतरा–वराहक्षेत्र चल्ने यात्रुवाहक बस र ल्यान्डरोभरका हुटमा मान्छे नबोक्न निर्देशन दिए पनि यात्रु हुटमा जोखिमपूर्ण यात्रा गर्न बाध्य छन् ।

यसअघि प्रहरीले यात्रुवाहक ल्यान्डरोभरका छत सानो बनाउने र छतमा यात्रु बोक्न नपाईने भन्दै अनुगमन निरीक्षण गरे पनि प्रभावकारी हुन सकेको थिएन । नियम पालना नहुँदा दुर्घटना बढ्ने सम्भावना रहेको चतरा इलाका प्रहरी कार्यालयका सइ रामदेव चौधरीले बताए ।केही समयअघि क्षमताभन्दा बढी यात्रु बोकेका कारण दुर्घटना बढेको भन्दै सुरक्षा निकायले अभियान चलाए पनि निरीक्षण अनुगमन नहुँदा जोखिम बढेको सरोकारवालाहरू बताउँछन् ।

चाडपर्व तथा मेलाहरूलाई अवसरका रूपमा लिएर यातायात व्यवसायीले सवारी साधनको दुरुपयोग गरेको स्थानीयको गुनासो छ ।वराहक्षेत्रमा लाग्ने बोलबम, माघे मेला, कात्तिके मेलालगायतका अवसरमा यात्रुहरूलाई खाँदेर छतमा राख्ने गरिएको वराहक्षेत्र संरक्षण मञ्चका अध्यक्ष नरबहादुर राईले बताए । वराहक्षेत्र धार्मिक पर्यटकीय स्थल भएकाले तीर्थयात्रु आए पनि जोखिमपूर्ण यात्रा गराउन नहुने अध्यक्ष राई बताउँछन् ।

स्थानीय निकाय र ट्राफिक प्रहरीले समेत नियन्त्रण गर्न नसकेको उनको भनाइ छ । चतरा–वराहक्षेत्र सडकखण्डमा समेत यात्रुवाहक ल्यान्डरोभरले क्षमताभन्दा बढी यात्रु बोक्ने गरेको गुनासो आएको सइ चौधरी बताउँछन् । भने, ‘हामीले गुनासो सुनेका छौँ । ट्राफिक प्रहरीको सहकार्यमा समस्या समाधान गर्छौं ।