तरहरा/महिला हिंसाविरुद्ध विभिन्न सङ्घसंस्था क्रियाशील रहेपनि हिंसा भने घट्न सकेको छैन । महिला सशक्तीकरण र हिंसा न्यूनीकरणका नाममा सरकारी र गैरसरकारी संस्थाले वार्षिक करोडौं रूपैयाँ खर्च गरेपनि प्रभावकारी हुन सकेको छैन । महिलाहरु विभिन्न नाममा हिंसा भोग्न बाध्य भइरहेका छन् ।
महिलामाथि घरेलु, यौनजन्य, कुटपिट, गाली–बेइज्जती लगायतका हिंसामा कमी आउनुको साटो झन् बढ्दै गएको प्रहरी तथ्याङ्कले देखाउँछ ।गत चालू आर्थिक वर्षको अहिलेसम्म पूर्वभर महिला हिंसासम्बन्धी नौ सय ९३ वटा उजुरी प्रहरी कार्यालयमा परेको छ । त्यसमध्ये मोरङमा सबैभन्दा बढी चार सय ४८ वटा उजुरी परेको क्षेत्रीय प्रहरी प्रवक्ता गंगाप्रसाद पौडेलले बताए । यसअघि गत आर्थिक वर्षमा पूर्वभर ४५ सय ९८ वटा उजुरी परेको प्रहरीले जनाएको छ । गत आर्थिक वर्षमा पनि मोरङमा सबैभन्दा बढी १६ सय ८७ उजुरी परेको प्रहरी तथ्याङ्कले देखाउँछ । यस्तै झापा र ओखलढुङ्गामा पनि महिला हिंसाको घटना बढिरहेको क्षेत्रीय प्रहरीको तथ्याङ्कले देखाएको छ ।परालिगल इटहरीकी अध्यक्ष तथा महिला अधिकारकर्मी राधा भट्टराईले पहिले लुकेका घटनाहरु अहिले बाहिर आएको कारण सङ्ख्या बढेको देखिएको बताइन् ।
महिला सचेतना गोष्ठीमा जुन महिलाहरु जानु पर्ने हो त्यो वर्गलाई ल्याउन नसकेको उनको स्वीकारोक्ती छ । राज्यले विशेष ध्यान नदिएको कारण र कानुन कार्यान्वयन नहँुदा पनि महिला हिंसाको घटना बढिरहेको उनको तर्क छ । ‘पीडितको पहुँच नहुनाले अभैm घटनाहरु बाहिर आउन सकेका छैनन्’, उनले थपिन्, ‘सङ्घसंस्थाले मात्र महिला हिंसा न्यूनीकरण गर्न नसक्ने पक्का छ, राज्यले विशेष ध्यान दियोस् ।’इटहरी इलाका प्रहरी कार्यालयका डिएसपी नरेशराज सुवेदीले केही समूह बनाएर एनजिओ खोल्दैमा महिला हिंसाको घटना नघट्ने बताए । केही सचेतना भएपनि महिला हिंसाका घटना न्यूनीकरण गर्न समाजका अगुवाहरु एकजुट हुनुको विकल्प नभएको उनको भनाइ थियो । महिला हिंसाको घटनालाई एनजिओ र सरकारले मात्र न्यूनीकरण गर्न नसक्ने भन्दै समग्र सामाजिक अगुवाले सचेतना पैmलाउनु पर्ने उनको भनाइ थियो ।
‘महिला बालबालिकाका उजुरीहरुलाई पहिलो प्राथमिकतामा राखेर हेर्दै आएको छु’, डिएसपी सुवेदीले भने । यो चालू आर्थिक वर्षमा महिला हिंसाका ५८ वटा उजुरी इलाका प्रहरी कार्यालय इटहरीमा परेको छ ।सुनसरीका प्रहरी प्रमुख एसपी पोषराज पोखरेल भने महिला हिंसाका घटना बढीनै रहेको बताउँछन् । प्रहरीमा उजुरी गर्नेको सङ्ख्यालाई आधार मान्दा पनि सुनसरीमा महिला हिंसाको घटना बढिरहेको पोखरेलको भनाइ छ ।
प्रहरीले महिला हिंसाका घटनालाई गम्भीरताका साथ हेरिरहेको बताउँदै गाउँको तुलनामा शहरी क्षेत्रका महिलाहरु बढी हिंसामा पर्ने गरेको उनको भनाइ छ । तर अहिले गाउँबाट पनि हिंसा भयो भन्दै महिलाहरुले उजुरी हाल्ने गरेको एसपी पोखरेलले बताए ।