ताप्लेजुङ/ ताप्लेजुङमा बिहीबार सम्पन्न कञ्चनजङ्घा हिरक महोत्सवको अवलोकन ३५ हजारभन्दा बढी आन्तरिक तथा बाह्य पर्यटकले गरेका छन् । महोत्सवको समापन श्रम तथा रोजगार मन्त्री सूर्यमान गुरुङले गरे ।
तीनदिने महोत्सव मङ्गलबार शुरु भएको थियो । कञ्चनजङ्घा हिमालमा मानव पाइला टेकेको ६० वर्ष पूरा भएको अवसरमा सुकेटारमा आयोजना गरिएको सो महोत्सवको उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गरेका थिए । कञ्चनजङ्घा हिमाल, जिल्लाको पर्यटकीय क्षेत्र र नेपाली पर्यटन क्षेत्रको प्रचार प्रसार अन्तर्राष्ट्रिय क्षेत्रसम्म गर्ने उद्देश्यले आयोजना गरिएको महोत्सवमा स्थानीय विभिन्न संस्कृति झल्किने झाँकीहरु प्रदर्शन गरिएका थिए ।
यसका साथै कञ्चनजङ्घा पाथीभरा टुर प्याकेज, राष्ट्रिय तथा स्थानीय कलाकारको साङ्गीतिक प्रस्तुति, हाइकिङ, बाइक रेस र पाथीभरा प्याराग्लाइडिङलगायतका कार्यक्रम राखिएका थिए । महोत्सव स्थलमा स्थानीय उत्पादन र परिकारका ४० वटा स्टलको अवलोकन सबैभन्दा बढी भएको महोत्सव आयोजक समितिका सचिव बलबहादुर तामाङले बताए ।
६० वर्षअगाडि ब्रिटिस नागरिक सर चाल्र्स इभान्सको नेतृत्वमा जो ब्राउन र जर्ज क्रिस्टोफर ब्यान्डले पहिलोपटक कञ्चनजङ्घा हिमालको सफल अरोहण गरेका थिए । यो समयदेखि अहिलेसम्म स्वदेशी तथा विदेशी गरी ३ सय ८४ जनाले यो हिमालको आरोहण गरिसकेका छन् । ८ हजार ५ सय ८६ मिटर उचाइको कञ्चनजङ्घा हिमाल ताप्लेजुङको उत्तरी भेगमा पर्छ । यो जैविक विविधता तथा वन्यजन्तु संरक्षणका दृष्टिकोणले समेत प्रसिद्ध मानिन्छ ।