धरान/पत्रकार जनकऋषी राईले सम्पादन गरेको ‘भकुरा उर्फ भक्तकुमार राईको भ्रम र वास्तविकता’ नामक कृतिको मङ्गलबार धरानमा लोकापर्ण गरिएको छ ।

पुस्तकमा भकुराले फैलाएका भ्रमहरुलाई चिर्ने किसिमका १८ वटा लेखहरु रहेका छन् । पुस्तकको किरात राई प्रज्ञा प्रतिष्ठानका अध्यक्ष सदर राई र किक अभियानका भद्रगोल किरातीलगायतले संयुक्त रुपमा लोकापर्ण गरे । भकुराले केही वर्ष यतादेखि प्रेमवादको नामका किरात धर्म संस्कारमाथि हस्तक्षेप गरिरहेको ठहर गर्दै पुस्तक प्रकाशन गरिएको अभियानका संयोजक किरातीले बताए ।
किरातीले यस अघि भकुराको भ्रमबारे चिर्ने प्रयास गर्दै पुस्तकहरु प्रकाशन गरेका थिए । उनले भकुरा जस्ता रोगलाई समयमै निमिट्यान्न पार्न सकेनौं भने पितापूर्खाले वर्षौअघिदेखि सुरु गरेको धर्म संस्कार सस्कृति समाप्त हुने बताए । उनले त्यही भ्रम चिर्नको लागि आफूले सुरुवात मात्रै गरेको बताए । त्यो गर्ने क्रममा आफूलाई प्रहरी प्रशासन लगाएर दवाउन खोजिएको बताए ।
परिषद्का अध्यक्ष सदर राईले भाषिक साँस्कृतिक तवरबाट पहिचानको आन्दोलन गरिरहेकाबेला हेभेन्लीपाथको माध्यमबाट किरातको धार्मिक आश्थामाथि प्रहार गर्ने कार्य भएको बताए । उनले यो प्रहार किराती राई जातिको तीनचुलामाथिको प्रहार भएको बताउँदै उनले भने, ‘तीनचुलामाथिको प्रहार भकुराबाट भयो । यसमा हाम्रो धार्मिक, प्रशासनिक आश्था र विश्वास छ । यसमाथि प्रहार हुनु भनेको समग्र किरात राईजातिमाथिको प्रहार हो ।’
यस्ता गतिविधिबाट सबै राईहरु सचेत हुनु पर्ने उनले बताए । परिषद्का सदस्य सालिक सतासक राईले किरात धर्म दर्शनलाई साँस्कृतिक रुपमा हिंसा गर्ने प्रयत्न भएको बताए । उनले किरात धर्म दर्शनमा प्रकृतिवादी र पितृभावको भावनाले ओतप्रोत भएको अवस्थामा प्रेमवादले कुने आत्मावादको विश्वास नगर्ने बताए ।
कार्यक्रममा सम्पादक राईलेसमेत किरात धर्ममाथिको प्रहारलाई रोक्नको लागि यो अभियान स्वरुप पुस्तक प्रकाशन गरिएको र त्यसका लागि भकुराकै मान्छेहरुलाईसमेत लेख्नको लागि भनिएको तर, कसैले पनि नलेखेको बताए । उनले भकुराको भ्रमलाई चिर्न अझै यस्ता पुस्तकहरु आउने बताएका छन् ।