बर्दिवास/श्रद्धा र निष्ठापूर्वक मनाइने छठपर्व तिथिको घटबढले मिथिलामा एउटै विधि दुई दिन मनाइएको छ । कार्तिक शुक्ल चाैँथीका दिन अघ्य बाट सुरु हुने छठ पर्वको पहिलो दिनको विधि तिथिको घटबढले दुई दिन परेको हो । चाैँथी तिथिका दिन ब्रतालुले पवित्र स्नान (व्रत सङ्कल्पका लागि नुहाइने) गरेर चोखोनितो खाएर गरिने विधि ‘नहाय–खाय’ भन्ने गरिन्छ । चाैँथी लागेपछि ब्रतालुले देह (शरीर) र मन पवित्र राख्नुपर्ने भएकाले चोखोनितो खाने र पवित्र स्नान गरिने विधि हिजो र आज दुई दिन गरिएको यसक्षेत्रका कर्मकान्डका ज्ञाताले बताएका छन् । मिथिलामा दरभङ्गा विश्वविद्यालय पञ्चाङ्ग र विद्यापति पञ्चाङ्गका आधारमा पर्व, व्रतलगायत मनाइने प्रचलन छ । यसपाली चौथी तिथि बिहीबार नै लागेको दुबै पञ्चाङ्गमा उल्लेख भएपनि छठपर्व विधिबारे फरक उल्लेख भएकाले बिहीबार सुरु भएको ‘नहाय–खाय’ आज पनि कायम राखिएको मिथिला परम्पराको कर्मकान्डका ज्ञाता बर्दिवास– ३ का महेशकुमार झाले बताए । यसपाली विद्यापति पञ्चाङ्गले बिहीबार चौँथी लागेकाले सो दिन ‘नहाय–खाय’ र आज शुक्रबार अहोरात्र पञ्चमी रहने दिन ‘खरना’ मनाउन उल्लेख गरेको छ । तर दरभङ्गा विश्वविद्यालय पञ्चाङ्गले मुख्य व्रतको तिथि षष्टी छुने पञ्चमी भोलि शनिबार परेकाले पञ्चमी तिथिका दिन गरिने ‘खरना’ भोलि शनिबारलाई तोकेको झाको भनाइ छ । दुबै पञ्चाङ्गको निर्णय बाँझिएकाले चाैँथी तिथिमा गरिने चोखोनितोको विधि हिजो र आज गरिएर ‘खरना’ भने षष्टी टेक्ने तिथिमा भोलि गरिन लागिएको झाले बताए । ‘नहाय–खाय’ विधिमा आत्मिक र दैहिक शुद्धि जोडिएकाले यो दुई दिन पर्दा पनि फरक नपर्ने व्रतालुको बुझाइ छ । परम्पराले निर्देशित गरेको तिथिमा सङ्कल्प र शुद्धताको विधिमा दिन थपिँदा केही फरक नपर्ने भएकाले आफूहरुले चौँथीतिथि लागेसँगै बिहीबारदेखि नै चोखोनितो गरेर आजसमेत सो विधिलाई कायम राखेको छठ पर्वकी व्रतालु महोत्तरी जिल्ला भङ्गाहा– ३ की सन्तोलिया चौधरी थारुले बताए। छठपर्वमा चाैँथी तिथिका दिन पहिलो विधि ‘नहाय–खाय’, पञ्चमीका दिन ‘खरना’ र षष्टीका दिन निराहार व्रत बसेर साँझ अस्ताउँदो सूर्यलाई अघ्र्य दिने तथा सप्तमीका दिन बिहान उदाउँदो सूर्यलाई अघ्र्य दिएर व्रत समापन गर्ने परम्परा छ । अहिले छठपर्वको विधिमा पहिलो दिनको विधि कतिपयले दुई दिन मनाए पनि खरना, निराहार व्रत (सझुका अरख) र व्रत समापन (भोरका अरख) भने नेपालको मिथिला क्षेत्रका विद्वानको सहमतिमा दरभङ्गा विश्वविद्यालय पञ्चाङ्गकै आधारमा नेपालको मिथिला क्षेत्रभरी मनाइन थालिएको कर्मकान्डका ज्ञाता महेशकुमार झाले स्पष्ट पार्नुभयो । रासस