gasभद्रपुर/ झापाको भद्रपुरस्थित पराजुली ब्रदर्श तथा ग्यास उद्योगबाट वितरित त्रिशक्ति ग्यासका उपभोक्ता बढी मूल्य तिर्न बाध्य भएका छन् । झापा जिल्ला बजार अनुगमन समितिले शहरी क्षेत्रमा बेलाबेला मात्र अनुगमन गरे पनि ग्रामीण क्षेत्रलाई बेवास्ता गर्दा ग्रामीण उपभोक्ता व्यापारीबाट खुलेआम ठगिँदै आएका हुन् ।

भद्रपुरबाट लगभग २० किलोमिटर दक्षिण पर्ने पृथ्वीनगर, बनियानी, बालुवाडी, पाठामारी, पथरिया, केचनालगायतका गाविस क्षेत्रका उपभोक्ता एलपी ग्यास सिलिण्डरमा ठगिएको सो क्षेत्रका उपभोक्ताले गुनासो गरेका छन् । अनुगमन समितिको विभेदकारी नीति तथा लापरवाहीले गर्दा व्यापारीको मनोबल बढ्दै गएको उनीहरुको भनाइ छ । उद्योगको अनुमति लिएर ग्यास डिलरका सञ्चालकले नेपाल सरकारले तोकेको मूल्यभन्दा बढी लिने गरेका छन् । व्यापारीले प्रतिसिलिण्डर ७० देखि १ सय २० रुपैयाँसम्म बढी रकम असुल्दै कालोबजारी गर्ने गरेका छन् । अन्य समयभन्दा चाडपर्वको मौका पारेर कृत्रिम अभाव सिर्जना गरी उद्योगले तोकिएको मूल्यभन्दा बढी लिने गरेको छ ।भद्रपुरबाट वितरित त्रिशक्ति ग्यासले सो क्षेत्रमा ९० प्रतिशत व्यापार ओगटेको स्थानीय बताउँछन् । भद्रपुरमै त्रिशक्ति ग्यासको उद्योग हुँदाहुँदै पनि ग्यास सिलिण्डरमा उपभोक्ता ठगिँदै आएको स्थानीय खड्ग सुब्बाले गुनासो गरे । प्रशासनको बेवास्ता कारण स्थानीय जनता ठगिँदै आएको उनको भनाइ छ ।

सरकारले भरेको प्रतिसिलिण्डरको मूल्य १३ सय ५० रुपैयाँ तोकेको छ तर उपभोक्ताले प्रतिसिलिण्डर १५ सयसम्ममा खरिद गरिरहेको पथरियाका रोहित भण्डारीले बताए । पथरिया र बगानमा रहेको वेदनिधिको किराना पसल र डाक्टर सापकोटाको मेडिकल हलले ग्यास दिइरहेको भण्डारीले बताए । जिल्ला प्रशासन कार्यालयमा यसबारेमा पटकपटक जानकारी गराए पनि हालसम्म कुनै सुनुवाइ नभएको उपभोक्ताको भनाइ छ । नाम पत्रिकामा आएमा ग्यास नपाइने भएकाले नाम नराखिदिन केही स्थानीयले अनुरोध गरे । बनियानी क्षेत्रमा त्रिशक्ति र मेची ग्यास डिलर छन् । बनियानीमा भट्टराई हार्डवेयर, कार्की हार्डवेयर, जानकी इन्टरप्राइजेज र देवेन्द्र भट्टराईले गरी चारजनाले आधिकारिक रुपमा ग्यास डिलर सञ्चालन गरिरहेका छन् ।

उपभोक्ताले ग्यासको मूल्य बढी भएको गुनासो गर्दा ढुवानी खर्च लागेको भन्दै उल्टै थर्काउने गरेको स्थानीयको भनाइ छ । बनियानीका डिलरबाट छिमेकी गाविस बालुवाडी, पाठामारीसम्मका उपभोक्ताले ग्यास खरिद गरी लैजाने गरेका छन् । त्यस्तै पृथ्वीनगरको हिमाली, सगरमाथा, सोमबारे, ज्ञानेचोकलगायतका आधिकारिक डिलरहरुले पनि उपभोक्तासँग प्रतिसिलिण्डर १४ सय रुपैयाँ लिइरहेको स्थानीयको भनाइ छ ।ग्यास उद्योगले आधिकारिक रुपमा आप्mनै सवारी साधनमा डिलरसम्म सिलिण्डर पु¥याए पनि बढी मूल्य लिनु नियमसम्मत नभएको स्थानीयको आरोप छ । आयल निगमको चारआली डिपोका प्रमुख वासुदेव भण्डारीले उद्योगले तोकेको मूल्यभन्दा बढी लिन नपाइने बताए । आधिकारिक रुपमा जिल्ला प्रशासनमा गुनासो आएमा कारवाही गर्न सजिलो हुने भण्डारीले बताए ।पराजुली एण्ड ब्रदर्श ग्यास (त्रिशक्ति ग्यास) उद्योगका सञ्चालक आदित्य पराजुलीले उपभोक्ताबाट चर्को शुल्क लिने विषयमा आपूmलाई जानकारी नआएको बताए । बाटोको समस्याका कारण पृथ्वीनगरसम्म उद्योगकै सवारीले ग्यास सिलिण्डर पु¥याइरहेको उनको भनाइ छ । उद्योगले आधिकारिक डिलरलाई मात्र ग्यास दिने गरेको उनले जनाए ।

सो क्षेत्रका स्थानीय, डिलर र बजार समितिले संयुक्त रुपमा बैठक बसी उद्योगले तोकेको मूल्यमा उपलब्ध गराउने सहमति भएको आपूmलाई जानकारी आएको उनले बताए ।बढी मूल्य लिइएको आधिकारिक प्रमाण नआएसम्म अनुमानका भरमा कारवाही गर्न नसकिने झापाका सहायक प्रमुख जिल्ला अधिकारी एवम् बजार अनुगमन समितिका संयोजक डम्मरुप्रसाद निरौलाले बताए । सो क्षेत्रका उपभोक्ता, व्यापारी र उद्योगीलाई भेला गराई सहमति भइसकेकाले हाल यस्तो गुनासो नआएको निरौलाले दावी गरे ।