bus-sabariतरहरा/ दशैँ मनाउन घर आएका अधिकांश सर्वसाधारणले काठमाडौँ फर्कन सास्ती व्यहोर्नुपरेको छ । काठमाडौँ जान बस तथा जहाजको टिकट नपाउँदा सर्वसाधारणले सास्ती व्यहोर्नुपरेको हो । बस भाडामा व्यवसायीहरुले कालोबजारी गरिरहेको यात्रुको आरोप छ । दशैँको मौका छोपेर व्यवसायीहरुले समेत धेरै भाडा लिने गरेको सर्वसाधारणको आरोप छ ।

काठमाडौँ फर्कने सर्वसाधारणको चाप अत्यधिक भएपछि व्यवसायीहरुले बढी भाडा लिएर कालोबजारी गर्ने गरेको यात्रु बताउँछन् । झापाको मामाघरबाट घर फर्किन लागेका धनगढीका टीकाराम ढकालले आपूmलाई घर जान समस्या भएको इटहरी बसपार्कमा बताए । बस व्यवसायीहरुले बढी भाडा लिनलाई टिकट नभएको नाटक गर्ने गरेको उनको आरोप थियो ।दशैँको मौकामा व्यवसायीहरुले बढी भाडा लिने गरेको तीव्र गुनासो सर्वसाधारणहरुले गर्न थालेका भए पनि सम्बन्धित निकाय मौन बसिरहेको छ । अहिले व्यवसायीहरुले ब्रह्मलुट मच्चाएको काठमाडौँ फर्कदै गरेका दुहबीका मोहम्मद अन्सारीले गुनासो गरे ।

उनले अहिले बसधनीहरुले मनपरीतन्त्र चलाइरहेका भए पनि सम्बन्धित निकायले नदेखेभैmँ गरेको उनको आरोप छ । बढी भाडा लिनेलाई तत्काल कारवाहीको दायरामा ल्याउन अन्सारीले माग गरे ।‘हवाइजहाजमा समेत टिकट पाइँदैन, बसमा पनि समस्या उस्तै छ’, काठमाडौँ नै फर्कदै गरेका इटहरीकै गणेश कार्की भने, ‘भाडा तिर्दा पनि टिकटमा ठूलै बार्गेनिङ हुँदो रहेछ ।’ केटाकेटीसहित पाँचजनाको आप्mनो परिवारलाई काठमाडौँ जान ठूलो मुस्किल भएको उनको भनाइ छ । अहिले काठमाडौँ जाने नियमित बसहरुले समेत निर्धारितभन्दा डेढ सयदेखि २ सय रुपैयाँसम्म बढी भाडा लिइरहेको उनले जनाए । ‘रिजर्भको बस हो, बढी भाडा लाग्छ’ भन्दै अहिले यात्रुबाट बढी भाडा लिने गरिएको सर्वसाधारणको गुनासो छ ।

इटहरीका बस व्यवसायी प्रेम केसीले भने अहिले काठमाडौँ फर्कने यात्रुको सङ्ख्या बढेपछि टिकट नपाइएका कारण समस्या आएको बताए । नेपाल सरकारले तोकेको भाडाभन्दा बढी नलिएको उनको दावी छ । ‘पहिला भाडामा केही छुट हुन्थ्यो तर अहिले व्यवसायीहरुले पूरा भाडा लिइरहेका छन् ।’ उनले भने । केही दिनपछि सहज हुने उनको भनाइ छ ।पूर्व क्षेत्रीय ट्राफिक प्रहरी प्रमुख एसपी पवन गिरीले सवारीको क्षमताभन्दा यात्रु धेरै भएका कारण काठमाडौँ फर्कन समस्या भएको जनाए । दशैँको समयमा आधा दर्जनभन्दा बढी बसलाई कारवाही गरिएको एसपी गिरीले बताए ।

अहिले ट्राफिक प्रहरीले सम्झाउने बुझाउने अभियानसमेत शुरु गरेको उनले जनाए । उनले भने, ‘दुर्घटनामा कमी ल्याउन सवारी चालकहरुलाई सम्झाउने कार्यक्रम राखिएको छ ।’ काउन्टरबाटै बढी भाडा लिने गरिएको भन्दै उनीहरुलाई कारवाही गरिएको हो । मोरङमा को.१ ज २३८८, ना. ४ ख ३६३१, सोलुमा ना.१ ज ५८६४, ना.१ ज ४४११, सिरहामा ना.५ ख २९१० नम्बरका बसलाई कारवाही गरिएको छ । त्यस्तै इलाममा मे.१ ज २४०२ र मे.१ ज २४४०, झापामा मे.१ ज ३३३५ र ना.३ ख २५१२, धनकुटामा ना.४ ख ६४८८ नम्बरको यात्रुवाहक सवारी साधनले बढी भाडा लिएको भन्दै कारवाही गरिएको क्षेत्रीय ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।