विराटनगर/घरजग्गा करको दरमा देखिएको समस्यालाई दिर्घकालिनरुपमा समाधान गर्न विराटनगर उपमहानगरपालिका एकीकृत सम्पती कर प्रणालीमा जाने भएको छ । उपमहानगरपालिकाको नेतृत्व सम्हाल्न सरुवाभई आउनुभएका कार्यकारी अधिकृत दिपक कोइरालाले आगामी परिषदमा छलफल गरेर एकीकृत सम्पती कर प्रणाली अवलम्वन गर्न आवश्यक प्रकृया अघि बढाइने बताए ।
देश भरका नगरपालिकाले एकीकृत सम्पती कर प्रणाली लागुगरिसक्दा पनि विराटनगर उपमहानगरपालिका, काठमाण्डौ महानगरपालिका, भक्तपुर र इलाम नगरपालिकाले भने अहिलेसम्म घरजग्गा कर नै संकलन गर्दै आएका छन् । घरजग्गा करमा एउटै सम्पतीको दोहोरो कर तिर्नुपर्ने जस्ता व्यहारिक जटिलता आएपछि त्यसको विरोध हुँदै आएको थियो । विराटगनर उपमहानगरपालिकाले चालु आर्थिक वर्षदेखि स्थानीय स्वायत्त शासन नियमावली २०५६ को पछिल्लो संशोधन अनुसार परिमार्जित दररेट कार्यान्वयनमा ल्याएको थियो । यसबाट बढी कर तिर्ने करदाताहरुको करमा भारी छुट भएको थियो भने कम कर तिर्ने करदाताहरुले झण्डै दोब्बर कर तिर्नुपर्ने अवस्था आएको थियो । विराटनगर उपमहानगरपालिकाले घरजग्गा करबाट वार्षिक ८ करोड रुपैंया राजश्व संकलन गर्दै आएको छ । एकीकृत कर प्रणाली अपनाउने नगरपालिकाहरुले नगरपालिकाको कार्य सम्पादन मुल्यांकन गर्दा प्राप्त गर्ने नम्वर घरजग्गा कर प्रणाली लागु गर्ने नगरपालिकाले प्राप्त गर्न सक्दैनन् । त्यसले नगरपालिकाको कार्यक्षमता मूल्यांकनमा पनि असर पर्ने भएकोले प्राविधिक समिति गठन गरेर एकीकृत कर प्रणालीमा लैजाने कोइरालाले बताए ।
विराटनगर उपमहानगरपालिकामा संचालित ढल निकास परियोजना आगामी एक वर्ष भित्र सम्पन्न गर्ने कोइरालाले दावी गरे। यहि फागुन २४ गते भित्र सम्पन्न गर्नुपर्ने परियोजनाको काम विभिन्न कारणले पुरा नभएको पत्रकार भेटघाटमा उनले जानकारी दिए । अहिलेसम्म परियोजनाको भौतिक पुर्वाधार तर्फ ६० प्रतिशत काम सम्पन्न भएको छ भने वित्तिय भुक्तानी तर्फ ५८ प्रतिशत सम्पन्न भएको छ । परियोजना अन्तरगत ६४ किलोमिटर कालोपत्रे सडक निर्माण गर्नुपर्नेमा साढें २ किलोमिटर मात्र सम्पन्न भएको छ । ६२ किलोमिटर ढल निर्माण गर्नुपर्नेमा २९ किलोमिटर, सतही नाला ३६ किलोमिटर निर्माण गर्नुपर्नेमा ३० किलोमिटर सम्पन्न भएको छ । २ अर्व ७२ करोड रुपैंया लगानीमा सुरु भएको परियोजनामा करिव ३ अर्व २८ करोड रुपैंया अपुग भएकोले आगामी तीन महिना भित्र थप रकम सम्झौता हुने तयारी भइरहेको नगरपालिकाले जानकारी दिएको छ ।