[caption id="attachment_16821" align="alignnone" width="800"]1 photo helicoptar taplejung गर्भवती लिन आएको हेलीकोप्टर मौषम खरावीका कारण सदरमुकाम स्थित भानुजन उच्च माविको खेल मैदानमा । तस्विर : रविन भट्टराई[/caption] ताप्लेजुङ / समयमा उपचार नपाउँदा ताप्लेजुङको विकट पापुङ गाविसमा एक गर्भवती महिलाको ज्यान गएको छ । सुत्केरी बेथा लागेकी पापुङकी ४० वर्षीय पेमा शेर्पाको समयमा अस्पताल लैजान नसक्दा गए राति एक बजेतिर मृत्यू भएको हो । मृतकका काका नुपु शेर्पाका अनुसार पेमालाई सुत्केरी बेथा लाग्न साथ काठमाडौबाट मनाङ एयरको हेलीकोप्टर मगाईएको भए पनि खराब मौषमका कारण हेलीकोप्टर पुग्न नसक्दा उपचार अभावमा शेर्पाको ज्यान गएको हो । गर्भवती महिला लिन आएको हेलीकोप्टरले हिजो दिउँसो दुई पटक पापुङ जाने प्रयास गरेको थियो । तर खराव मौषमका कारण अबतरण गराउन नसक्दा खोक्लिङको बिद्यालय प्राङगडमा राखिएको थियो । पटक पटकको प्रयास विफल भएपछि हेलीकोप्टर गए राति सदरमुकामस्थित भानुजन उच्च माविको प्राङ्गडमा राखिएको थियो । विरामिको मृत्यू भएपछि सो हेलीकोप्टर आज विहान साडे १० बजे काठमाडौ फर्किएको छ । स्वास्थ्य मन्त्री गगन कुमार थापाले नेपाली जनताको स्वास्थ्य बिमा गराउने, प्रत्येक अस्पतालमा फार्मेसी सेवा सञ्चालन गर्ने जस्ता महत्वकाँक्षी योजनाको घोषणा गरिरहेका बेला ताप्लेजुङका दुर्गम गाविसका गर्भवती महिलाको भने गाउँ गाउँमा स्वास्थ्य संस्था र अहेब अभावमा समयमा नै उपचार नपाएर मृत्यु रोकिएको छैन । ताप्लेजुङको ओलाङ्चुङगोला, लेलेप, पापुङ लगायतका विकट गाविसका महिला गर्भवती भए र सहज रुपमा सुत्केरी नभएर हेलीकोप्टर मगाएर उपचारका लागि काठमाडौ लैजानुपर्ने बाध्यता रहेको छ । प्रत्येक गाविस र ईलाकामा स्वास्थ्य चौकी भए पनि भवन, उपकरण र स्वास्थ्य कर्मिको अभावमा स्थानियले उपचार सेवा पाउन सकेका छैनन् ।