फिदिम/पाँचथरको फिदिमस्थित मेची इङ्लिस स्कुलमा अध्ययनरत् दुई विद्यार्थी गत चार दिनदेखि बेपत्ता भएका छन् । च्याङथापू–३ पाँचथर बस्ने जगदीश राईका छोरा पृथ्वी राई र फिदिम नगरपालिका–१ नाम्दू बस्ने देउमान राईका छोरा वसन्त राई बेपत्ता भएका हुन् ।पृथ्वी सो विद्यालयको कक्षा ९ मा र वसन्त कक्षा ६ मा अध्ययनरत् थिए । विद्यालयको छात्रावासमा बसेर पढ्दै आएका उनीहरू गत भदौ २५ गते राति पौने १२ बजेदेखि एकाएक बेपत्ता भएको विद्यालयले जनाएको छ ।फिदिमका विभिन्न स्थानबाट केही व्यक्तिको मोबाइल चोरेको भन्दै प्रहरीले पृथ्वीलाई विद्यालयबाटै शनिबार दिउँसो नियन्त्रणमा लिएको थियो ।

bepatta-nagarik

प्रहरीको बयानमा पृथ्वीले मोबाइल चोरेको स्वीकार्दै चोरेका मोबाइल फिर्ता दिएका थिए । मोबाइल फिर्ता गरेपछि राति १० बजेतिर विद्यालयका शिक्षकहरुले पृथ्वीलाई प्रहरीबाट जिम्मा लिएर विद्यालयमा ल्याएका थिए । विद्यालयमा ल्याएपछि आपूmले केरकार गर्दै पृथ्वी र उनका मिल्ने साथी बसन्तलाई तीन÷तीन भाटा हानेको प्रधानाध्यापक सीता सेलिङले बताइन् । शनिबार राति होस्टलमा विद्यालयका शिक्षक रतन क्षेत्रीसँग एउटै कोठामा सुतेका पृथ्वी र बसन्त रातिदेखिनै बेपत्ता भएको विद्यालयका सहायक प्रधानाध्यापक नेयोङ हाङले बताए ।विद्यार्थी बेपत्ता भएपछि उनीहरुको खोजी भइरहेको विद्यालयले जनाएको छ । गएको एक वर्षदेखि होष्टलमा बस्दैआएका पृथ्वीको पछिल्लो गतिविधि असामान्य बन्दै गएको विद्यालयले जनाएको छ ।

रातको समयमा मासु खाने भन्दै या अन्य बहाना बनाएर उनी विद्यालय कम्पाउण्डभन्दा बाहिर निष्कने गरेको शिक्षकहरु बताउँछन् ।च्याङथापू–३ घर भएका पृथ्वी नर्सरी कक्षादेखि नै मेची बोर्डिङमा पढ्दै आएका हुन् । चार वर्षको उमेर भएदेखि नै छोरालाई मेची स्कूललाई जिम्मा लगाएको पृथ्वीका बुवा जगदीश राई बताउँछन् । पृथ्वीलाई केही समय अघिसम्म विद्यालयका शिक्षिकाहरुले आपूmसँगै राख्दैआएका थिए । पप्पु राई र गंगा नाम गरेका शिक्षिकाहरुले पृथ्वीलाई आफ्नै कोठमा राख्दैआएका थिए । एक वर्षयता पृथ्वीलाई विद्यालयले नै होष्टल सारेको थियो ।विद्यालय भर्ना गरेदेखिनै आपूmले छोरालाई विद्यालयको जिम्मा लगाएकाले छोराको स्वभावको बारेमा थाहा नभएको जगदीशको भनाइ छ । मोबाइल चोरेको आरोपमा छोरालाई प्रहरीले पक्राउ गर्दासमेत आपूmलाई विद्यालयले जानकारी नगराएको जगदीशको गुुनासो छ । आफ्नो एउटा मात्र छोरा बेपत्ता हुनुमा विद्यालयको लापरवाही भएको उनले बताएका छन् । पक्राउ गरेर प्रहरीले म्यासेज गरेपछि मात्र आपूmले छोराको बारेमा बुझ्न थालेको उनी बताउँछन् । पृथ्वी सँगै बेपत्ता भएका बसन्तको घर लालिखर्क हो । होष्टलमा उनी पृथ्वीका सबैभन्दा मिल्ने साथी हुन् । पृथ्वीसँग संगत गरेको भन्दै प्रिन्सिपल सेलिङले बसन्तलाई पनि तीन भाटा हानेकी थिइन् । मेची बोर्डिङ स्कूल जिल्लाको नाम चलेको विद्यालयमा पर्छ ।

तर पछिल्ला वर्षहरुमा विद्यालयमै ठूला ठूला घटनाहरु हुने गरेका छन् । विद्यालयमै छुरि हानाहान देखि लिएर शिक्षक विद्यार्थी कुटाकुटसम्म घटनाहरु हुने गरेका छन् । यस्तो घटनाहरु दोहोरिनुमा विद्यालय प्रशासनको कमजोरी रहेको सरोकारवालाहरु बताउँछन् । उनीहरू जहाँ रहेपनि चाँडै फर्केर आउन परिवार र विद्यालयले आग्रह गरेका छन् ।