तीजले धरानका शिवालय भरिए
धरान/हिन्दु नारीहरुको महान चाँड हरितालिका तीजका कारण धरानको शिवालयहरु भीडभाड छन् ।
विशेष गरी धरानको पिण्डेश्वर मन्दिर र गीता मन्दिरमा दर्शनार्थीहरुको घुइचो छ । महिलाहरु रातो सारी, चुरापोतेमा सजिएका कारण मन्दिर नै गुरास फुलेको वन झै भएको छ । धरानको गीता मन्दिर र पिण्डेश्वर मन्दिरमा जल चढाउनको लागि अहिलेसम्म लाइनमा उभिएका छन् ।
मन्दिर परिषरमै विभिन्न संघ संस्थाहरुले कार्यक्रमसमेत गरिरहेका छन् । नाँच्ने गाउँनेदेखि लिएर प्रतियोगितासम्मको कार्यक्रमहरु मन्दिर परिषरमा देख्न सकिन्छ । पिण्डेश्वर मन्दिर अघिल्तिर विभिन्न महिलाहरुले नाँच्ने प्रतियोगिता नै राखेका छन् । प्रतियोगितामा विजेताहरुलाई विशेष पुरस्कारकोसमेत व्यवस्थ गरिएको छ ।
सदिऔंदेखि मानिँदै आएको यो पर्व पछिल्लो समय महिलाहरुले विशेष चाँडको रुपमा मनाउँदै आइरहेका छन् । तीज आउनु एक महिना अघिदेखि नै चहलपहल सुरु हुन्छ । विशेष गरी ससुरालीमा रहँदा उँ बेलामा माइती आउने प्रचलन कमै हुने गरेको र तीजको बेलामा माइतीमा आएर आफ्नो दुःख भुलाउने मेलोको रुपमा तीजलाई लिने गरिन्थ्यो ।
तर, अहिले भने तामझामका साथ सबैजसो समूदायहरुले तीज मान्ने गरेका छन् । हिन्दु नारीहरुले मान्ने यो चाड अहिले नेवार, लिम्बू, राई, मगर, गुरुङ सबैजसो महिलाहरुले मान्ने गरेका छन् । पछिल्लो समय यो पर्व साझा पर्वको रुपमा विकास भइरहेको वृद्धाहरु बताउँछन् ।