धरान / सप्तकोशी नदीमा बढेको बाढीले चारैतिर घेरिएपछि सप्तरीको हनुमाननगर योगिनियाँ माई नगरपालिकाको गोबरगाढा गाउँका करीब डेढ सय परिवार सम्पर्कविहीन भएका छन् । सप्तरीका एसपी भीमप्रसाद ढकालले दिएको जानकारीअनुसार हालसम्म सो स्थानमा प्रहरी टोली पनि पठाउन सकिएको छैन । प्रहरीले सम्पर्क गर्ने प्रयास भने गरिरहेको उनले जनाए । सप्तकोशीमा पानीको बहाव दुई लाख क्युसेक प्रतिसेकेन्ड नाघेपछि गोबरगाढा हरेक वर्ष डुबानमा पर्ने गरेको छ । करीब चार सय परिवार रहेको गोबरगाढा गाविसका अधिकांश परिवार वर्षा शुरु भएपछि हनुमाननगर, योगिनियाँ, भारदहलगायतका क्षेत्रमा बसाइँ सर्ने गर्छन् । तर, यस वर्ष भने अधिकांश परिवारले गाउँ छोडे पनि अन्य विकल्प नभएका करीब डेढ सय परिवारले भने अभैm पनि गाउँ छोड्न नसकेका कारण समस्या उत्पन्न भएको स्थानीय रामभरोस यादवले बताए । यादवका अनुसार अहिले कोशीले गोबरगाढाका अधिकांश घर डुबानमा परेका छन् तर राहत पुनःस्थापनाको व्यवस्था हुन नसक्दा बालबालिका र केटाकेटीको बिचल्ली भएको छ । डुबानमा परेका परिवारलाई तत्कालीन गोबरगाढा–५ को उच्च स्थानमा सार्न सके ५० प्रतिशत जोखिम कम गर्न सकिने उनको भनाइ छ । गोबरगाढामा उत्पन्न समस्या स्थानीय प्रशासनलाई जानकारी गराउन कोशीको बाढीमा पौडिएर हनुमाननगर इलाका प्रहरी कार्यालय आइपुगेका यादवका अनुसार स्थानीय प्रशासनको सक्रियतामा डुङ्गाको सहायताले अहिले पनि गोबरगाढावासीलाई निकाल्न सकिने अवस्था छ । तर, स्थानीय प्रशासनले राहत तथा पुनःस्थापनामा खासै चासो नदिएपछि स्थानीय आक्रोशित भएको उनले जनाए । ‘गाउँलेहरु चिन्ता र पीडासँगै आक्रोशमा पनि आउन थालेपछि सोही कुरा प्रहरीलाई बुझाउन म हनुमाननगर आएको छु ।’ टेलिफोन सम्पर्कमा उनले भने । यादवका अनुसार सप्तकोशीले गोबरगाढालाई घेर्नुका साथै समिम मन्सुरी, कलिम मन्सुरी, अजितलाल यादव, सोमी यादव, डोमी यादव, शिवराम यादव, गोपाल यादवलगायतको घरनजिकैबाट कटानसमेत शुरु गरेको छ । यता, जिता र खाँडो, महुली, अमाहा, त्रियुगालगायतका अन्य विभिन्न नदीमा आएको बाढीका कारण रम्पुरा मलहनियाँ, तिलाठी, सप्तकोशी नगरपालिकाको फत्तेपुर, राजविराज नगरपालिका–५, ८, १०, कोइलाडी, तोपा, महदेवा, भगवतपुर, बथनाहा, भारदह, पोर्ताहा, बैरबा, पकरी, दिघवा, देउरी भरुवालगायतका एक दर्जन गाविस दुई दिनदेखि डुबानमा छन् । जिल्ला दैवी प्रकोप उद्धार समितिले च्युराभुजा वितरण गरेका तीन गाविसबाहेक अन्य गाविसमा हाल खान, बस्न तथा आउजाउको समेत समस्या छ । अविरल वर्षाका कारण सप्तरीको कोबर्साइनस्थित जीता खोलामा आएको बाढीले एक युवकलाई बगाएको छ । सोमबार बिहान करीब साढे १० बजे खोलाले बगाएका २३ वर्षीय सुदीपकुमार यादव वेपत्ता छन् । विराटनगर जतुवाका उनी सप्तरीको हनुमाननगरस्थित फरवार्ड बैङ्कको हनुमाननगर शाखाका कर्मचारी हुन् । नेपाली सेना तथा प्रहरीले उनको खोजी गरिरहेको सप्तरीका डीएसपी दानबहादुर कार्कीले जनाए । यस्तै, ताप्लेजुङ संवाददाताका अनुसार घर माथिबाट झरेको पहिरोले ताप्लेजुङको नाल्बुमा चार परिवार विस्थापित भएका छन् । नाल्बो–५ मा आइतबार पहिरो झर्दा श्यामबहादुर साँवा, समीर नाल्बो, सन्जमान सेरेङ चोङबाङ र मनि हाङ सेरेङ चोङबाङका परिवार विस्थापित भएका हुन् । पहिरोले श्यामको घर भत्काएको छ भने बाँकीका घर नजिकैबाट पहिरो गएकाले उनीहरु विस्थापित भएको ताप्लेजुङ जिल्ला प्रहरी कार्यालयका प्रमुख रामबहादुर केसीले बताए । पहिरोले घर भत्काउँदा श्यामको ५ लाख बराबरको क्षति भएको प्रहरीले बताएको छ । उनीहरुले अहिले विस्थापित भएर छिमेकीको शरणमा बसेका छन् । निरन्तरको वर्षाको कारण अहिले पनि पहिरो झरिरहेको स्थानीयले बताए । यसैबीच, ताप्लेजुङको तापेथोक गाविसका पहिरोप्रभावित परिवारलाई कञ्चनजङ्घा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्ले राहत रकम प्रदान गरेको छ । गत असार ३१ गते राति तापेथोक–८ सोत्लिम्मामा गएको पहिरोबाट विस्थापित बनेका १२ परिवारलाई एक लाख दुई हजार रुपैयाँ राहत रकम प्रदान गरेको परिषद्का अध्यक्ष खगेन्द्र फेम्बूले बताए । विस्थापितमध्ये वेपत्ता मनिता राईका श्रीमान् देउमान राईको परिवारलाई ४५ हजार, एक हल गोरु गुमाएको एक परिवारलाई ७ हजार र बाँकी १० परिवारलाई ५ हजारका दरले राहत रकम प्रदान गरिएको हो । उनीहरुलाई राखिएको तापेथोकको अस्थायी आवासमै पुगेर रकम हस्तान्तरण गरिएको अध्यक्ष फेम्बूले बताए । असार ३१ गते राति गएको पहिरोमा भाग्ने क्रममा देउमानकी श्रीमती २८ वर्षीया मनिता वेपत्ता भएकी हुन् भने १२ परिवारलाई दुई दिनपछि उद्धार गरी सुरक्षित स्थानमा सारिएको थियो । यसैगरी, तरहरा  संवाददाताका अनुसार सेउती खोलाको फोहोरसहित बाढी बक्लौरी गाविसमा प्रवेश गर्दा त्यहाँका दर्जनौँ घर डुबानमा परेका छन् । वर्षैपिच्छे सेउतीले बक्लौरीवासीलाई दुःख दिइरहेको स्थानीय बताउँछन् । सेउतीमा सोमबार ठूलो बाढी आएको कारण खोला कटान गर्दै बाढी गाउँमा पसेको हो । बक्लौरी बजार वरपर सेउती खोला पसेको स्थानीय तथा काङ्ग्रेस क्षेत्र नम्बर ६ का सभापति उपेन्द्र कटुवालले वताए । उनले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको फोहोरसमेत वर्षेनी बक्लौरीको खेतीयोग्य जमिनमा आउने गरेको बताए । सोमबार बिहानदेखि आएको बाढीले बक्लौरी बजार क्षेत्रमा वितण्डा मच्चाएको उनको भनाइ छ । बक्लौरीका तीनवटा घरमा पूर्ण रुपमा क्षति भएको पकली इलाका प्रहरी कार्यालयका इन्स्पेक्टर शान्ताराम कार्कीले बताए । नेपाल प्रहरी, सशस्त्री र नेपाली सेनाले कटान रोक्ने प्रयास गरिरहेको इन्स्पेक्टर कार्कीले जनाए । विराटगनर संवाददाताका अनुसार मोरङका विभिन्न खोलामा आएको बाढीले ६ सय परिवार विस्थापित भएका छन् । सोमबार विराटनगरमा बसेको जिल्ला दैवी प्रकोप उद्धार समितिको बैठकमा बाढीका कारण दुई दिनयता ६ सय परिवारका १५ सयभन्दा बढी व्यक्ति विस्थापित भएको र हजारौँ प्रभावित भएको जानकारी दिइएको हो । यसैगरी बाढीको चपेटामा परेका अमरदह–७, ८ र ९ नम्बर वडाका दुई सय परिवारलाई सुरक्षित स्थानमा सारेको जनाइएको छ । तटबन्ध भत्काएर  बक्राहा खोलाको बाढी गाउँमा पसेपछि गोविन्दपुर र डायनियाँ गाविसका साढे तीन सय परिवार विस्थापित भएका छन् । उनीहरुलाई स्थानीय विद्यालय तथा सडकमा पाल टाँगेर राखिएको मोरङका प्रमुख जिल्ला अधिकारी तोयम रायाले जनाए । पीडितहरुलाई खाद्यान्न तथा खानेपानीको अभाव हुन थालेको छ । यसैगरी सोमबार बिहान सशस्त्र प्रहरीले गोविन्दपुर–९ स्थित मुसहर बस्तीका २६ परिवारलाई उद्धार गरेको जनाएको छ । बक्राहा चिसाङमा आएको बाढीका कारण हसन्दह, मधुमल्ला, डायनियाँ, अमरदह तथा दर्बेसा गाविसका बासिन्दाहरु विस्थापित भएको प्रमुख जिल्ला अधिकारी रायाले जनाए । यसैगरी राहत वितरणलाई तीव्र बनाउने समितिको निर्णयअनुसार गोविन्दपुर, हसन्दह र अमदहमा सोमबार खाद्यान्न सहयोग उपलब्ध गराइएको छ । यता, इनरुवा संवाददाताका अनुसार  एक सातायता अविरल रुपमा परेको मुसलधारे वर्षाका कारण सुनसरीका विभिन्न खोलामा आएको बाढीले दर्जनभन्दा बढी गाविस डुबानमा परेका छन् । सुनसरी, मरिया, गडन, बुढी, ककरु, टेङ्ग्रालगायतका खोलामा आएको बाढीले बस्तीहरु डुबानमा परेका छन् भने किसानहरुले भर्खरै मात्र रोपेको धानखेतीमा पनि क्षति पुगेको छ । सुनसरी खोलामा आएको बाढीले बबिया, नरसिंह, भोक्राहा, रामनगरभुटाहा, घुस्की, बसन्तपुरलगायतका गाविसका सयौँ घर डुबानमा परेको स्थानीयले जनाए । त्यसैगरी बुढी खोलामा आएको बाढीले पूर्वकुसहा, रामगञ्ज बेलगछियालगायतका गाविसमा सयौँ घर डुबानमा परेका छन् । यस्तै चिमडी र राजगञ्जसिनुवारीबाट बग्ने बुढी खोलामा आएको बाढीले राजगञ्जसिनुवारी–९ का ५० भन्दा बढी घर डुबानमा परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । यस्तै, मरिया खोलामा आएको बाढीले रामनगर भुटाहाको तटबन्ध भत्काएर खोला गाउँमा पसेपछि सयौँ घर डुबानमा पर्दा आवागमनमा समेत समस्या भएको भुटाहा प्रहरी चौकीका प्रमुख सुरेश यादवले जनाए । जिल्ला प्रहरी कार्यालयका अनुसार विभिन्न खोलामा आएको बाढीले सिमरिया, तनमुना, छिटाहा, सत्तेरझोरा, देवानगञ्ज, कप्तानगञ्ज, लौकहीलगायतका गाविससमेत डुबानमा परेका छन् । अविरल वर्षाका कारण अमाहिबेल्हामा पानीको निकास नहुँदा ३४ घर डुबानमा परेका छन् । स्थानीय खोलामा पानीको सतह बढेपछि साहेबगञ्ज, अमडुवालगायतका क्षेत्रमा समेत डुबान शुरु भएको स्थानीयले जनाए । यस्तै, पानी निकासमा समस्या भएपछि सुनसरी सदरमुकाम इनरुवाको वार्ड नं. ३ को सखुवागाछी, वार्ड नं. ५ को महेन्द्रचोक, वार्ड नं. ७ को बिहीबारे टोल र वार्ड नं. ६ का सयौँ घर डुबानमा परेको स्थानीय गोपाल यादवले बताए । पानी निकासको व्यवस्था मिलाउन इनरुवा नगरपालिकाका इन्जिनियर इन्द्रानन्द साहको नेतृत्वमा कर्मचारीहरुको टोलीलाई जेसिबीसहित आइतबार बिहानैदेखि परिचालन गरिएको नगरपालिकाका कार्यकारी अधिकृत रामचरित्र मेहताले बताए । यसैगरी गत शुक्रबार मरिया खोलामा माछा मार्ने क्रममा डुबेर रामनगर भुटाहाका १० वर्षीय सलिम अन्सारीको मृत्यु भएको छ । शुक्रबार वेपत्ता भएका सलिमको शव शनिबार राति फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । अविरल वर्षाको कारण ग्रामीण क्षेत्रमा आवागमनमा समस्या भएको रामनगर भुटाहाका समसाद आलमले बताए । यस्तै, लगातारको वर्षाका कारण डाँसखोलामा उर्लिएको बाढीले पूर्व–पश्चिम लोकमार्गअन्तर्गत मोरङको पथरीशनिश्चरे–८ जिरिखिम्तीमा पर्ने डाँस खोलाको पुल जोखिममा परेको शनिश्चरे संवाददाताले जनाएका छन् । बाढीले पुलको पूर्वी भागमा कटान गरी पुलको सुरक्षाका लागि लगाइएको तारजाली बगाउनुका साथै पुलको फेदको भागसमेत कटान गरेको छ । पुल र बस्ती जोगाउन नगर क्षेत्रका अगुवाहरुले सम्बन्धित निकायसँग हारगुहार मागिरहेका छन् । बाढी पुलको फेदमा ठोक्किएर पश्चिमको जिरिखिम्तीतिर मोडिँदा बस्तीसमेत जोखिममा परेको छ । कटान हुँदै गएर दीपेन्द्र दहालसहितका दुई दर्जन घरसमेत जोखिममा परेका छन् । त्यसको पूर्वतर्पmका दुई परिवार विस्थापित भएका छन् । त्यहाँका पनि दर्जनौँ घर जोखिममा पर्न थालेका छन् । स्थानीयले जिल्ला प्रशासन, सडक विभाग, प्रहरीलगायतसँग तटबन्धनका लागि हारगुहार मागिरहेका छन् । पश्चिमतर्पmको जिरिखिम्ती बस्तीको खोला किनारमा तारजालीसहितको तटबन्ध नहुँदा जोखिम निम्तिएकाले सम्बन्धित निकायको ध्यान त्यसतर्पm जानु आवश्यक रहेको कटानपीडितमध्येका दहालले बताए । बाढीको सङ्कटपछि सोमबार पथरीशनिश्चरे नगरपालिका कार्यालयले स्काभेटर मगाएर खोलाको बहाव सिधा पार्ने प्रयत्न गरिरहे पनि सफल हुन सकेको छैन । Untitled-2 copy