2राजविराज / अधिकार प्राप्तीका लागि संविधान संसोधनको माग गर्दै मधेशमा जारी आन्दोलन तथा अन्य विभिन्न कारणले नागरिक सम्वन्धमा दरार महसुस गरेको सप्तरी प्रहरीले नागरिक–प्रहरी सम्वन्धलाई यथाअवस्थामा फर्काउन प्रयास थालेको छ । सम्वन्ध सुधारको पहिलो चरणमा प्रहरीले हरेक नागरिकका घरमा पुग्ने कार्यक्रम सुरु गरेको छ । करिव एक महिना लगाएर ५ नगरपालिका र ९१ गाविसका कुल १ लाख २१ हजार १० घरमा पुग्ने योजना वनाएको प्रहरीले हरेक घरको मुल ढोकामा प्रहरीको सम्पर्क नम्वर सहितको स्टिकर टाँस्ने, घरमुली तथा परिवारका अन्य सदस्यसँग सामान्य अन्तरक्रिया गर्ने र सम्पर्क नम्वर साटासाट गर्ने कार्ययोजना निर्धारण गरेको छ । सप्तरीका सिडिओ वलदेव गौतमले आईतवार जिल्ला प्रहरी कार्यालयमा आयोजित एक कार्यक्रमका विच कार्यक्रमको उदघाटन गरेका छन् । जिल्ला प्रहरी कार्यालय, विभिन्न ईलाका प्रहरी कार्यालय र प्रहरी चौकी गरी ४८ वटा यूनिट मार्फत कार्यक्रमलाई एकै पटक संचालन गरिने एसपी भिमप्रसाद ढकालले वताएका छन् । टेलीफोन नम्वर सहितको स्टिकर टाँस गर्ने कार्यक्रमलाई नाग टाँस्ने अभियानका रुपमा चित्रण गरेको प्रहरीले सोहि स्टिकरका माद्यमद्वारा जिल्लामा शान्ति स्थापना गरेर देखाउने चुनौतिपुर्ण योजना समेत वनाएको छ । प्रहरीले टाँसेको स्टिकरले घर(घरमा प्रहरीको उपस्थिती महसुस गराउने भन्दै उनले भने –‘कुनै समस्या आए वा प्रहरीको आवश्यक्ता महसुस भए तत्काल फोन गर्नोस, प्रहरी तपाईको मुल ढोकामा उभिएको पाउनुहुनेछ ।’