खोटाङ / वर्षाका कारण दिक्तेल–हलेसी सडक अवरुद्ध भएको छ । हप्तादिनदेखि लगातार परेको वर्षाका कारण सडकखण्डमा खाल्डाखुल्डी हुनुका साथै हिलाम्मे भएपछि सडक अवरुद्ध भएको हो । मध्यपहाडी लोकमार्गमा पर्ने दिक्तेल–हलेसी सडकमा यात्रुबाहक सवारीसाधन नचलेपछि यात्रु कष्टपूर्ण यात्रा गर्न बाध्य भएका छन् । जिल्ला आउने तथा बाहिरिने यात्रु दिक्तेलदेखि हलेसीसम्म र हलेसीदेखि दिक्तेलसम्म ४१ किलोमिटर हिलाम्मे सडकमा कष्टपूर्ण तरिकाले पैदलयात्रा गर्न बाध्य छन् ।
तीन वर्षअघि कालोपत्र गर्ने जिम्मा लिएर काम थालेको ठेकेदार कम्पनीले सडकमा आलो माटो तथा ढुङ्गा थुपारेकाले सडक अवरुद्ध भएको यातायात व्यवसायी सङ्घ खोटाङका सचिव राम हिङमाङले बताए । “ठेकेदारले सडकमा थुपारेको आलो माटोका कारण सवारीसाधन सडकमै भाँसिन थालेपछि चलाउन छाड्यौँ,” उनले भने – “यात्रु र हामी व्यवसायीलाई परेको असरप्रति सम्बन्धित निकायले ध्यान दिन जरुरी छ ।”
घाम लागेको समयमा पनि मुडेसम्म जोखिम मालेर सवारीसाधन ल्याउनुपर्ने अवस्था रहेको चालकले बताएका छन् । ठूला यात्रुबाहक बस चल्न छाडेपछि सो सडकमा साना जिपले भए पनि सेवा दिने प्रयत्न गरिएको व्यवसायीले बताएका छन् ।
सोही सडकखण्डमा पर्ने दिक्तेल–हुर्लुङ सडक महिना दिनदेखि अवरुद्ध छ । उक्त सडकमा अहिले ट्र्याक्टरबाहेक अन्य सवारीसाधन चल्दैन । सडक अवरुद्ध भएपछि जिल्लामा दैनिक उपभोग्यवस्तुको मूल्य पनि एक्कासि वृद्धि भएको छ । सडक अवरुद्ध भएको बहानामा व्यापारीले उपभोग्यवस्तुको मूल्यवृद्धि गरेपछि स्थानीय जनतालाई समस्या भएको छ । रासस