नुवाकोट । भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीमा फसेकी एक महिलाको सकुशल उद्धार गरिएको छ ।
शनिबार विदुर नगरपालिका–१०, वेत्रावतीकी ६४ वर्षीया चन्द्रिका श्रेष्ठको एघार दिनपछि सकुशल उद्धार गरिएको हो । सशस्त्र प्रहरी बल, १९ नम्बर गुल्मबाट बाढी प्रभावित क्षेत्रमा सशस्त्र प्रहरी निरीक्षक सुमन विकको नेतृत्वमा खटिएको टोलीले श्रेष्ठलाई उनको घरको चौथो तलाबाट उद्धार गरेको हो ।
गुल्मका प्रमुख सशस्त्र प्रहरी नायब उपरीक्षक वीरेन्द्र राउतका अनुसार बाढी प्रभावित बस्तीका घरमा रहेका सामग्री हटाउन तथा स्थानीयलाई सहयोग गर्न पुगेको उद्धार टोलीले घरभित्रबाट महिलाको आवाज सुनेपछि तत्काल खोजी तथा उद्धार गरेको थियो । श्रेष्ठ हिलोमा गाडिएको अवस्थामा फेला परेकी थिइन्। उद्धारपछि उनलाई थप उपचारका लागि काठमाडौं पठाइएको सशस्त्र प्रहरीले जनाएको छ। रासस