क्रिभी रिह । युक्रेनको मध्य भागमा पर्ने क्रिभी रिह सहरस्थित एक व्यस्त व्यापारिक केन्द्रमा रुसी ड्रोनबाट भएको आक्रमणमा कम्तीमा १६ जनाको मृत्यु भएको छ। आक्रमणमा १३० जना घाइते भएका छन्। घाइतेमध्ये बालबालिका पनि रहेका छन् भनेर स्थानीय अधिकारीहरूले बताएका छन्।
शुक्रबार भएको उक्त आक्रमणमा क्रिभी रिहको सबैभन्दा ठूलो व्यापारिक केन्द्रलाई लक्षित गरिएको थियो। रुसी ड्रोनले दुई चरणमा आक्रमण गरेको र पहिलो आक्रमणपछि उद्धार तथा राहत कार्यमा जुटेका बेला पुनः आक्रमण भएको विवरण सार्वजनिक भएको छ। घटनापछि व्यापारिक केन्द्रमा ठूलो आगलागी भएको थियो।
आक्रमणपछि उद्धारकर्मीले भवनका भग्नावशेष हटाउँदै घाइते तथा प्रभावित व्यक्तिहरूको खोजी गरेका थिए। शनिबारसम्म पनि खोज तथा उद्धार कार्य जारी रहेको थियो। अधिकारीहरूका अनुसार केही व्यक्ति अझै सम्पर्कविहीन छन्, जसमा दुई बालबालिका पनि रहेका छन्।
घाइतेमध्ये दर्जनौँलाई उपचारका लागि अस्पताल लगिएको छ। स्थानीय अधिकारीका अनुसार ६१ जना अस्पतालमा उपचाररत थिए भने तीमध्ये २३ जनाको अवस्था गम्भीर रहेको छ। आक्रमणका कारण व्यापारिक केन्द्र तथा आसपासका क्षेत्रमा ठूलो भौतिक क्षति पुगेको छ।
युक्रेनी अधिकारीहरूले नागरिकको भीड रहेको स्थानमा भएको आक्रमणको निन्दा गरेका छन्। राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले घटनालाई गम्भीर आक्रमणका रूपमा चित्रण गर्दै अन्तर्राष्ट्रिय समुदायबाट रुसमाथि थप दबाब आवश्यक रहेको बताएका छन्।
क्रिभी रिह राष्ट्रपति जेलेन्स्कीको गृहनगरसमेत हो। यसअघि पनि यो सहर रुसी क्षेप्यास्त्र तथा ड्रोन आक्रमणको निशानामा पर्दै आएको छ। पछिल्लो आक्रमणले युक्रेनमा नागरिक क्षेत्रमा हुने हवाई आक्रमणको जोखिम पुनः बढेको देखाएको छ।
आक्रमणको भोलिपल्ट युक्रेनका अन्य क्षेत्रमा पनि रुसी ड्रोन तथा क्षेप्यास्त्र आक्रमण भएको विवरण आएको छ। राजधानी किभसहित विभिन्न क्षेत्रमा भएका आक्रमणमा थप मानिसको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।
युक्रेनले पनि रुसी भूभागमा ड्रोन आक्रमण तीव्र पारेको छ। रुसी क्षेत्रमा भएका पछिल्ला आक्रमणमा कम्तीमा १० जनाको मृत्यु भएको र तेल प्रशोधन केन्द्र तथा औद्योगिक पूर्वाधारमा क्षति पुगेको विवरण आएको छ। दुवै पक्षबाट हवाई आक्रमण बढ्दै गएपछि युद्धको मानवीय तथा पूर्वाधार क्षति थप गम्भीर बन्दै गएको छ।
क्रिभी रिहमा भएको आक्रमणपछि आज, २३ अगस्टलाई स्थानीय तहले मृतकहरूको सम्झनामा शोक दिवस घोषणा गरेको छ। उद्धारकर्मीहरूले सम्भावित बेपत्ताहरूको खोजी तथा भग्नावशेष हटाउने कामलाई निरन्तरता दिएका छन्।