विजयपुर । वनस्पति विभागका महानिर्देशक डा. सञ्जीव कुमार राईले संकलन भएका जडिबुटीमध्ये करिब ९० प्रतिशत कच्चा रूपमै निर्यात हुने गरेको बताए । “जसका कारण मुलुकले अपेक्षित मूल्य अभिवृद्धि गर्न सकेको छैन,” उनले भने, “संरचना सुदृढीकरण, नवीन प्रविधि र पूँजीको उपयोग आवश्यक रहेको बताइएको छ । साथै, परम्परागत ज्ञान र आधुनिक विज्ञानको समन्वय, प्रशोधन तथा मूल्य अभिवृद्धि, बजार विस्तार र सार्वजनिक–निजी–सामुदायिक सहकार्य अपरिहार्य मानिएको छ ।”
राईका अनुसार अनुसन्धान र विकासमा लगानी वृद्धि गर्दै जडिबुटीलाई अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धी बनाउन सके नेपाललाई ‘जडिबुटीको अन्तर्राष्ट्रिय भण्डार’का रूपमा स्थापित गर्न सकिने सम्भावना रहेको छ । “नेपालमै प्रशोधन गरेर औषधि उत्पादन गर्न सके समृद्धिको बलियो आधार तयार हुन्छ,” उनले भने । डा. राईले आधुनिक विज्ञानसँग मेल खाने गरी जडिबुटीमा अध्ययन–अनुसन्धानलाई तीव्र बनाउँदै रासायनिक संरचना पहिचान गरी पेटेन्ट लिन सकिने सम्भावना औंल्याए । यसले अन्तर्राष्ट्रिय बजारमा नेपाली उत्पादनको विश्वसनीयता र प्रतिस्पर्धात्मक क्षमता बढाउने उनको भनाइ छ ।
हाल अधिकांश जडिबुटी जंगली अवस्थाबाट मात्रै संकलन हुने गरेको उल्लेख गर्दै राईले यसको दीगो व्यवस्थापनका लागि व्यावसायिक खेती विकास आवश्यक रहेकोमा जोड दिए । “खेती प्रणालीमा विस्तार गर्न सके उत्पादन बढ्छ, रोजगारी सिर्जना हुन्छ र आयात प्रतिस्थापनसँगै निर्यात बढाउन सकिन्छ,” उनले भने । राईले जडिबुटीको प्रभावकारी बजारिकरण, प्रशोधन उद्योग स्थापना र अन्तिम उत्पादन वृद्धि गर्नुपर्नेमा जोड दिनुभयो । सुरुवाती लगानी अभाव मुख्य चुनौती भएको उल्लेख गर्दै उनले निजी क्षेत्रलाई प्रोत्साहन गर्न सहुलियत नीति आवश्यक रहेको बताए । विभागका अनुसार नेपालबाट निर्यात हुने जडिबुटीमध्ये यार्सागुम्बाको मूल्य उच्च रहे पनि तेजपात सबैभन्दा बढी व्यापार हुने वस्तुका रूपमा रहेको छ । उनले जडिबुटी क्षेत्रलाई समृद्धिको आधार बनाउन दीर्घकालीन नीति, अनुसन्धानमा लगानी र उत्पादन–प्रशोधन–बजारिकरणलाई एकीकृत रूपमा अघि बढाउन आवश्यक रहेकोमा जोड दिए । रासस






























