विराटनगर । एईईको परीक्षामा चिट चोराएको आरोपमा प्रहरीले एक जना सहायक केन्द्राध्यक्षलाई पक्राउ गरेको छ ।
मोरङको ग्रामथान–६ स्थित पब्लिक माध्यमिक विद्यालय परीक्षा केन्द्रका सहायक केन्द्राध्यक्ष प्रेमलाल माझीलाई प्रहरीले बिहीबार नियन्त्रणमा लिएको हो । बिहीबार भएको लेखा विषयको परीक्षाका क्रममा माझीले मोबाइल फोन प्रयोग गरी प्रश्नपत्रको फोटो खिचेर बाहिर पठाएको पाइएपछि उनलाई पक्राउ गरिएको मोरङ प्रहरीले जनाएको छ ।
परीक्षाको मर्यादाविपरीत प्रश्नपत्र आउट गरेर विद्यार्थीलाई अवैधरूपमा सहयोग गरेको फेला परेपछि माझीलाई पक्राउ गरी थप अनुसन्धान अघि बढाइएको मोरङ प्रहरी प्रमुख एसपी कवित कटुवालले बताए । इप्रका बेलबारीले पक्राउ परेका माझीलाई शिक्षा ऐन तथा परीक्षासम्बन्धी कसूर अन्तर्गत कानूनी प्रक्रिया अगाडि बढाएको छ ।































