यो चुनावको परिणाम आउँदै गर्दा पुराना दलहरु सानो आकारमा खुम्चिए । संसद्को सबैभन्दा ठूलो दल नेपाली काङ्ग्रेस र नेकपा (एमाले) हरु दोस्रो र तेस्रो दलमा सीमित बन्दैछन् । आखिर यो अवस्था किन आयो ? के दलहरुको अकर्मण्यताको कारणले आएको हो ? पक्कै पनि उनीहरुले यसअघि गरेको कर्मको फल हो यो । सत्तामा टिकिरहनका लागि गर्दै आएको गठबन्धनले जनतामा एक प्रकारको नैराश्यता छाएको थियो । डेलिभरीको अवस्था शून्य थियो भने भ्रष्टाचारको अवस्था अन्त्य भएको थिएन । अर्कातिर सुशासन कमजोर बन्दै गइरहेको थियो भने जवाफदेहिता त लगभग शून्यको अवस्थामा थियो । यसले पनि आमजनतामा दलहरुप्रति निराशा छाउँदै थियो । तर यस कुरालाई उनीहरुले नजरअन्दाज गरिरहेका थिए ।
यहीबीचमा भदौ २३ र २४ गतेको घटनालाई दलको शीर्षस्थ नेताहरुले गरेको व्यवहारले झन् चिढिएका थिए । सुध्रिनुपर्नेमा उल्टो दिशामा गइरहेका थिए । जनतामा एक प्रकारको सन्नाटा छाएको थियो । मानौँ, ठूलो आँधीबेहरी आउँदैछ । त्यो सन्नाटाको परिणाम अन्ततः देखिसकेको छ । फागुन २१ गतेको आँधीले सबैलाई बटारेको छ । त्यो भूमरीमा सबै ढुल्मुलिएका छन् । भूमरीले सबैलाई पत्तासाफ गरेको छ । जनाधार भएका स्थानमा पनि कमजोर स्थिति देखापरेको छ । जनता जनार्दन भन्ने भाष्य पुनः निर्माण भएको छ । यसले पुराना दलहरु विनिर्माण हुनुपर्ने र सच्चिएर आउनुपर्ने देखाएको छ । नयाँ दलहरुप्रति नागरिकको आशा छ । पूर्ण विश्वास छैन । त्यो आशालाई विश्वासमा बदल्ने सुनौलो अवसर प्राप्त गरेका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले दुईतिहाइ मत प्राप्त गर्ने स्थिति बनेको छ । यो सुखद् पक्ष हो । नेपाली राजनीतिमा यस्तो अवस्था आएको दोस्रो पटक हो । २०१५ सालको मध्यावधि चुनावमा नेपाली काङ्ग्रेसले दुईतिहाइ मत प्राप्त गरेको थियो र २०८२ सालमा पहिलो पटक रास्वपाले दुईतिहाइ मत प्राप्त गर्दैछ । यसलाई जोगाएर राख्न सकेन भने फेरि पनि देश अर्को दुर्घटनामा पर्ने निश्चित छ । जनताले जुन आशा र विश्वासले मत दिएका छन्, त्यो मतको कदर गर्ने जिम्मेवारी रास्वपालाई छ । तर नेपाली राजनीतिमा प्रचण्ड बहुमत प्राप्त गर्ने दलहरु लामो समय टिकेको इतिहास सायदै छ ।
२०१५ सालको मध्यावधिले ८७ स्थानमा जित हासिल गरेको नेपाली काङ्ग्रेसको सरकारले राजा महेन्द्रले नै ‘कू’ गरी ३० वर्षे पञ्चायती व्यवस्था लागू गरेको इतिहास साक्ष्य छ । यस्तै २०६४ सालमा संविधानसभाको चुनावमा यसैगरी माओवादीलाई जनताले विश्वास गरेका थिए तर ९ महिना नबित्दै सरकारबाट हात धुनु परेको इतिहास साक्ष्य छ । त्यसकारण चुनावमा प्रचण्ड बहुमत प्राप्त गर्दा पनि धेरै कुराहरुमा आफूलाई संयमित बनाउन आवश्यक छ भन्ने विगतका इतिहासहरुले देखाउँछ । जनताको आशा र विश्वासलाई मर्न नदिनका लागि कम्तीमा पाँच वर्ष एकमना सरकार चलाएर जनतामा डेलिभर गर्न आवश्यक देखिएको छ ।
जनताले यस पटक विश्वास गरेका छन् । त्यो विश्वासलाई कायम राख्नका लागि रास्वपाले निकै मिहिनेत गर्नुपर्ने देखिएको छ । पुराना दललाई सच्चिन आग्रह गरेका छन् भने नयाँ दललाई अवसर दिएका छन् । त्यो अवसरलाई कसरी सदुपयोग गर्ने भन्ने विषय चाहिँ एकदमै महत्वपूर्ण हो । अहिलेको सरकारलाई कानून परिवर्तन गर्नेदेखि लिएर संविधान संशोधन गर्न सक्ने क्षमता प्रदान गरेको छ । उनीहरुले चाहेअनुसारको कम्फर्टेवल सरकार छ । नेपालजस्तो सानो भूराजनीतिक प्रभाव हुने देशमा अन्तर्राष्ट्रिय सम्बन्धलाई पनि अक्षुण्ण राख्दै अगाडि बढ्नुपर्ने अवस्था छ ।
सहकारिता, समन्वय र सद्भावबाटै देशलाई अगाडि बढाउनुपर्ने अवस्था छ । साना दलहरुलाई पनि लिएर सरकार अगाडि बढाउन आवश्यक देखिएको छ । यस्तो परिस्थितिमा एकदमै संयमित भएर अगाडि बढेनन् भने देशका लागि त्योभन्दा ठूलो दुर्भाग्य केही हुँदैन । यो बेलामा जनताले पनि खबरदारी गरिरहन आवश्यक छ । जनताले भोट दिएर पठाएका जनप्रतिनिधिहरुलाई बारम्बार ठुँगिरहन आवश्यक छ । उसले के गरिरहेको छ, के गर्न लाग्दैछ भन्ने विषयमा पनि प्रष्ट हुन आवश्यक छ । अब खबरदारी गर्ने पालो जनताको हो । जेन जी पुस्ताको हो । यसकारण देशले निकास पाउने गरी सबैले आ–आफ्नो ठाउँबाट खबरदारी गर्न सकेमा पक्कै पनि देशले नयाँ काँचुली फेर्ने थियो कि !






























