विराटनगर । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनमा आफ्नो जितलाई सुनिश्चित गर्न दलहरूका उम्मेदवारहरू बस्तीहरूमा प्रवेश गरेका छन् । बस्तीका स्थानीयहरूले पनि आफ्ना बस्तीमा निरन्तर भोगेका समस्या उम्मेदवारसँग राखेका छन् । कतिपय बस्तीका बासिन्दाहरू चुनावले उत्साहित होइन, निराश पनि छन् ।
विराटनगर–१२ सम्पन्न बस्तीमा रहेका ऋषिदेव बस्तीमा भने उत्साह होइन, त्रास छ । यो त्रास निर्वाचनको नभई आउँदो बर्खामा केसलिया खोलाले फेरि कतिबेला उठिबास लगाउने हो भन्ने कुराको हो । त्यसैले यहाँका ७० घरपरिवार ऋषिदेवले यसपटक एउटै सर्त अघि सारेका छन्, “जसले केसलियाको बाढी रोक्छ, भोट उसैलाई ।”
बस्तीका ६० वर्षीय रामेश्वर ऋषिदेवको अनुहारमा निर्वाचनको उमङ्गभन्दा बढी चिन्ताका धर्साहरू छन् । “हामी यहाँ बसेको वर्षौं भइसक्यो, तर हाम्रो दुःख कसैले देखेनन्” बर्खामा हिलाम्मे हुने सडक देखाउँदै उनले भने, “प्रत्येक चुनावमा नेताहरू आउँछन्, तटबन्ध हालेर बस्ती जोगाउँछौँ भन्छन् । चुनाव जित्छन्, तर हाम्रा लागि त्यो वाचा ‘आकाशको फल’ मात्रै भयो ।”
बर्खा लाग्नासाथ केसलिया खोलाको बाढी घरभित्रै पस्छ । त्यसपछि यहाँका बासिन्दा पोकापुन्तरा बोकेर नजिकैको बखरी स्कुलमा शरण लिन पुग्छन् । “कतिन्जेल स्कुलको चिसो भूइँमा शरण लिनु ? यसपटक त ठोस काम गर्नेलाई मात्र भोट दिन्छौँ”–रामेश्वरले भने ।
७० घरधुरी रहेको यो बस्तीमा सामान्य मानवीय सुविधासमेत पुग्न सकेको छैन । बस्तीभित्रका सडक ग्राभेल भएका छैनन् । स्थानीय कौसिमा देवी ऋषिदेवको गुनासो पनि उस्तै छ । “नाला त बन्यो, तर त्यसको निकास छैन । ढक्कन नहुँदा साना बालबालिका खस्ने डर छ” उनले भनिन्, “सडकमा ग्राभेलसम्म गरिदिए पनि हिलोबाट जोगिन्थ्यौँ ।” यहाँका घरहरूमा अहिलेसम्म विद्युत्को मिटर बक्स र स्वच्छ पिउने पानीको समेत उचित व्यवस्था छैन ।
विराटनगर–१२ का वडासदस्य कुशेश्वर राजवंशीका अनुसार केसलिया खोलाको तटबन्धन यो बस्तीको मात्र नभई विराटनगरको दक्षिणी भेगकै सुरक्षाको मुद्दा हो । उनी भन्छन्, “वडानम्बर ५ देखि नै करिडोर बनाएर तटबन्धन गर्न सकिए मात्र यो क्षेत्रलाई दीर्घकालीन रूपमा बाढीबाट जोगाउन सकिन्छ ।”
यो क्षेत्र मोरङ ६ मा पर्दछ । यहाँ प्रमुख दलसहित २० जना उम्मेदवार चुनावी मैदानमा छन् । मुख्य प्रतिस्पर्धा नेपाली काङ्ग्रेसका डा. शेखर कोइराला, नेकपा (एमाले)का विनोद ढकाल, नेकपाका ओपेन्द्र राय र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की रुबिना आचार्यबीच हुने देखिन्छ ।
काङ्ग्रेसको ‘गढ’ मानिने यो क्षेत्रमा डा. कोइराला आफ्नो अपराजित विरासत जोगाउने दाउमा छन् भने एमालेका ढकाल विगतको हारको बदला लिने रणनीतिमा छन् । गत २०७९ को निर्वाचनमा डा. कोइरालाले एमालेका लालबाबु पण्डितलाई पराजित गरेका थिए । तर, यसपटक रास्वपाकी आचार्य र मजदुर नेता रायको उम्मेदवारीले प्रतिस्पर्धालाई बहुआयामिक बनाइदिएको छ ।
१ लाख ३७ हजार ८ सय ३२ मतदाता रहेको यस क्षेत्रमा ‘जेन जी’ (नयाँपुस्ता) र सचेत मतदाताको सङ्ख्या उल्लेख्य छ । उम्मेदवारहरू भोट माग्न बस्ती पुग्ने तर काम नगर्ने प्रवृत्तिका कारण स्थानीय लोलाइ ऋषिदेव आक्रोशित छिन् । “यसपटक हामी नेताका कुरा सुन्ने मात्र होइन, कामको ग्यारेन्टी खोज्नेछौँ”–उनले भनिन् ।
अहिलेसम्म धेरै उम्मेदवार बस्तीमा पुगिसकेका छैनन् । तर, मतदाताले आफ्ना माग प्रष्ट पारिसकेका छन्– “केसलियामा तटबन्धन, सडक ग्राभेल, बिजुली र नालाको निकास । यी आधारभूत आवश्यकता पूरा गर्ने प्रतिबद्धता बोकेर आउनेलाई मात्रै यसपटक ऋषिदेव बस्तीले साथ दिने मुड बनाएको छ ।”


































