धरान । निर्वाचन आयोगले निर्वाचन आचारसंहिता, २०८२ उल्लङ्घन गरेको उजुरीका आधारमा विभिन्न राजनीतिक दलका उम्मेदवार, सरकारका मन्त्री तथा संस्थालाई धमाधम स्पष्टीकरण सोधेको छ ।

आचारसंहिता लागू भएको माघ ४ गते राति १२ बजेदेखि माघ ११ गतेसम्म आयोगले आठ जनासँग स्पष्टीकरण मागेको आयोगका सहायक प्रवक्ता सीता पुन श्रीसले जानकारी दिइन् । हालसम्म एक जनाले मात्र स्पष्टीकरण पेस गरेका छन् । 

आयोगले काठमाडौं क्षेत्र नं. ४ का राप्रपा उम्मेदवार वरिष्ठ अधिवक्ता डा. सुरेन्द्र भण्डारीलाई निर्वाचन प्रचारका क्रममा संवेदनशील समुदायको भावनामा आँच पुग्ने सामग्री प्रयोग गरेको आरोपमा स्पष्टीकरण सोधेको छ ।

 यस्तै कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई पनि सरकारी पदमा रहँदै दल विशेषको पक्षमा प्रचार गरेको आरोपमा माघ ७ गते स्पष्टीकरण मागिएको थियो । दुवैले हालसम्म जवाफ नदिएको आयोगले जनाएको छ ।

दोलखा क्षेत्र नं. १ का राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार पूर्व सञ्चारमन्त्री जगदीश खरेलले मात्र स्पष्टीकरण पेस गरेका छन् । आयोगका अनुसार उनको जवाफ चित्तबुझ्दो भएकाले भविष्यमा आचारसंहिता पालना गर्न सचेत गराइएको छ ।

यसैबीच, अखिल नेपाल फुटबल सङ्घ (एन्फा) र राष्ट्रिय खेलकुद परिषद्लाई निर्वाचनका बीच एन्फा काङ्ग्रेस आयोजना गरेको विषयमा स्पष्टीकरण सोधिए पनि दुवै निकायले जवाफ दिएका छैनन् । 

पूर्व सञ्चारमन्त्री तथा जाजरकोटबाट उम्मेदवार शक्तिबहादुर बस्नेत, कोशी प्रदेशका उद्योग, कृषि तथा सहकारीमन्त्री इस्राइल मन्सुरी र ओखलढुङ्गाबाट रास्वपाका उम्मेदवार विश्वराज पोखरेलसँग पनि निर्वाचन प्रचार–प्रसारमा आचारसंहिता उल्लङ्घन गरेको आरोपमा स्पष्टीकरण माग गरिएको छ । उनीहरूबाट पनि हालसम्म जवाफ प्राप्त नभएको आयोगले जनाएको छ ।