धरान । सुनसरीको धरानमा खुकुरी प्रहारबाट एक युवाको ज्यान गएको छ ।
धरान उपमहानगरपालिका ११ का ३५ वर्षीय रूपक राईमाथि खुकुरी प्रहार भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । प्रहरीका अनुसार उनीमाथि भाइ नाता पर्ने ३३ वर्षीय रविन राईले खुकुरी प्रहार गरेका थिए । उनको घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ ।
मङ्गलबार साँझ उनीहरूबीच विवाद भएको थियो । विवादको क्रममा रविनले उनीमाथि खुकुरी प्रहार गरेको स्थानीयको भनाइ उद्धृत गर्दै प्रहरीले जनाएको छ । प्रहरीले खुकुरी प्रहारमा संलग्न रविनलाई करिब ७ बजेतिर बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट नियन्त्रणमा लिएको छ । घटनाका विषयमा थप अनुसन्धान भइरहेको र आरोपितमाथि कर्तव्य ज्यान मुद्दामा कारबाही अगाडि बढाइएको प्रहरीले जनाएको छ ।
































