धरान । विभिन्न प्रजातान्त्रिक आन्दोलनहरूको आरोहअवरोह झेलेको नेपाली काङ्ग्रेस अहिले आफै नयाँ कि पुरानो भन्ने रस्साकस्सीमा तीन दिनदेखि होमिएको छ ।
विशेष महाधिवेशनबाट हालका सभापति शेरबहादुर देउवालाई बिदाइ गर्ने मुडमा आधाभन्दा बढी कार्यकर्ता देखिन्छन् । तर उनले छाड्ने वा नयाँलाई सुम्पिने भन्नेमा होडबाजी चलिरहेको छ । बैठकमा शेरबहादुर देउवाले पार्टी सभापति पदबाट राजीनामा दिनुपर्ने अडान राखेका छन् । यस्तै फागुन २१ को निर्वाचनमा आधिकारिक उम्मेदवारका लागि उपसभापति पूर्णबहादुर खड्का वा नेता शशाङ्क कोइरालामध्ये एकको हस्ताक्षरलाई आधिकारिक मान्यता दिनुपर्ने सर्त राखिएको जनाइएको छ ।
यहीबीचमा एकातिर केन्द्रीय समितिको बैठक, अर्कोतिर विशेष महाधिवेशन निर्वाचन समितिले मङ्गलबार साँझ साढे ७ बजेसम्म उम्मेदवारी दर्ताको कार्यक्रम तयले पनि रस्साकस्सी देखिएको हो ।
केन्द्रीय समितिको बैठकमा काङ्ग्रेस महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगन थापा गएनन् । जसका कारण उपसभापति पूर्णबहादुर खड्काले डाकेको केन्द्रीय समिति बैठक केहीबेरमात्रै बसेर स्थगित भएको छ । खड्का सुरु नहुँदै बाहिरिएपछि उपसभापति धनराज गुरुङले बैठक सञ्चालन गरेका थिए । निर्वाचन समितिका संयोजक सीताराम केसीका अनुसार एक घण्टाका लागि उम्मेदवारीको समयसीमा तोकिएको छ भने त्यस पछिको मनोनयनका लागि समय थप नगर्ने मुडमा रहेको जनाइएको छ ।
सभापतिका लागि तीनजनाले फारम लगेको जनाइएको छ । विशेष महाधिवेशनको बन्दसत्र ९ घण्टादेखि जारी छ । बन्दसत्रमा दुई महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मा निरन्तर बसिरहेका छन् । उनीहरू विशेष महाधिवेशन पक्षधर हुन् भने संस्थापन पक्ष विशेष महाधिवेशनको पक्षमा देखिएका थिएनन् । तर देशभरिबाट प्रतिनिधि तथा कार्यकर्ताको भेला भएपछि बाध्य भएर तानिएका छन् । महाधिवेशनमा निर्वाचनको प्रक्रिया खुला भइसकेकाले पुरानै विधानअनुसार नेतृत्व चयन गर्ने बताइएको छ । निर्वाचन समितिले पत्रकार सम्मेलन गरी उक्त विषयमा जानकारी गराइसकेको छ ।
पुरानो विधानअनुसार एक सभापति, दुई उपसभापति, दुई महामन्त्री, आठ सह–महामन्त्री र एक सय २१ सदस्यको निर्वाचन हुने जनाइएको छ । हाल काङ्ग्रेसमा चार हजार ६ सय ३५ महाधिवेशन प्रतिनिधि रहेका छन् । यसबीचमा कार्यविधिसमेत पारित गरिएको थियो । ‘नेपाली काङ्ग्रेस विशेष केन्द्रीय महाधिवेशन कार्यविधि–२०८२’ नाम दिई कार्यविधि पारित गरिएको छ । जसमा केन्द्रीय कार्यसमिति विघटन गर्ने प्रावधानसमेत समावेश छ । काङ्ग्रेसको १४ औँ महाधिवेशन २०७८ साल मङ्सिर २४ गते सम्पन्न भएको थियो । उक्त कार्यविधिमा १४ औँ महाधिवेशनबाट निर्वाचित मौजुदा केन्द्रीय कार्यसमितिको पदावधि समाप्त भइसकेकाले केन्द्रीय कार्यसमितिको विघटन गर्ने र काङ्ग्रेसको १५ औँ महाधिवेशन सम्पन्न नहुँदासम्मका लागि नयाँ केन्द्रीय कार्यसमिति निर्वाचित गर्ने प्रावधान उल्लेख छ ।
यता देउवा पक्षधर नेताहरूले महामन्त्रीहरूले पार्टी फुटाएमा निष्काशन गरेर जाने बताउँदै आएका छन् । पार्टी प्रवक्ता रामशरण महतले संस्थापन पक्ष पनि हदैसम्म लचिलो हुने बाटो तय गरेको बताएका छन् । उनले पार्टी फुटाउने जो कोहीलाई निष्काशन गरेर पार्टी अगाडि बढ्ने जनाएको छ ।
































