धरान । केन्द्रीय प्रविधि क्याम्पस हात्तीसारका स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) का सचिव विश्वेश्वरप्रसाद बडुले परीक्षामा अमर्यादित काम गरेपश्चात् ‘एक्सपेल’ गरेको विषयमा क्याम्पस प्रशासनलाई फिर्ता लिन दबाव दिने गरेको पाइएको छ ।
गत वैशाखमा सम्पन्न स्नातक तहको न्युट्रिसियन एन्ड डाइटिसियनको प्रथम सेमेस्टरको परीक्षामा अमर्यादित कार्य गरेको भनी क्याम्पसको परीक्षा बोर्डले ‘एक्सपेल’ गरेको थियो । उक्त विषयमा पदीय हैसियत भुलेर स्ववियुको सचिव भएकै नाताले दबाव दिने गरेको क्याम्पस स्रोतले जनाएको छ । यता विद्यार्थी बडुले ब्लाष्टकर्मीसँगको फोनसम्पर्कमा आफूले कुनै पनि किसिमको दबाव नदिएको दाबी गरे । उनले भने, “विद्यार्थीको भविष्यमाथि खेलवाड गरिदिनु भएन । छिटो निर्णय गरिदिनुपर्यो भनेर प्रशासनमा आफ्नो माग राखेको हो । दबाव दिएको छैन ।”
उनले विभिन्न कलेजका स्ववियुका विद्यार्थीहरूलाई ल्याएर पनि दबाव दिने गरेको स्रोत बताउँछ ।
उनले वैशाखमा दिएको परीक्षाको परीक्षाफल भदौमा प्रकाशित हुँदा ‘एक्सपेल’ भएको थाहा पाएको बताए । परीक्षा बोर्डले हातहतियार तथा अनैतिक कार्य गरेको भनी आरोप लगाएको बताए । तर, आफूले त्यस्ता कुनै पनि गतिविधि नगरेको प्रष्ट पारे । उनले क्याम्पस प्रशासनलाई पटक पटक दबाव दिँदै आए पछि क्याम्पस प्रमुख वसन्तकुमार राईले करिब १० दिनअघि राजीनामा दिएको बुझिएको छ । तर, राजीनामा हालसम्म स्वीकृत भएको छैन । यसबीचमा प्राध्यापक प्रभात श्रेष्ठको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति पनि बनेको थियो ।
उक्त समितिले बुधबार मात्रै प्रतिवेदन बुझाएको छ । छानबिन समितिको सदस्यमा डा. गणेश तामाङ र प्रशासन प्रमुख सन्तोष कोइराला रहेका थिए । प्रतिवेदनको विषयमा परीक्षा बोर्डले अध्ययन गरेर निर्णय गर्ने क्याम्पस प्रमुख राईले जानकारी दिए । उनले ब्लाष्टकर्मीसँग भने, “परीक्षामा मर्यादापालन गरेन भनेर एक्सपेल गरिएको थियो । त्यो विषयमा के भएको हो भनेर छानबिन समिति बनाइयो र प्रतिवेदन पनि बुझाइसकेको छ । अब बोर्डले निर्णय गर्छ ।”
उनका अनुसार जेन जी आन्दोलन, चाडबाड आदिका कारणले गर्दा पनि प्रतिवेदनमा ढिलाइ भएको हो । छानविन समितिले विद्यार्थी, शिक्षकलगायत सबैसँग बुझ्दा केही ढिलाइ भएको र अब चाँडै निर्णय बाहिर आउने उनले बताए । परीक्षाका समयमा बाह्य परीक्षकको रूपमा आएका त्रिभुवन विश्वविद्यालयअन्तर्गतको परीक्षा नियन्त्रण कार्यालयका सहायक डिन महेन्द्र महर्जनले समेत अमर्यादित कार्य गरेको नाममा एक्सपेल गरेका थिए । उनी केन्द्रीय प्रविधि क्याम्पस हात्तीसारको परीक्षा बोर्डका सदस्यसमेत छन् । उनलाई यस विषयमा फोन गर्दा फोन उठाएनन् ।
































